यु १९ विश्वकप : न्युजिल्याण्डसँग नेपाल ६४ रनले पराजित

आईसीसी यु १९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षति २३८ रन मात्र बनायो।
नेपालका लागि अर्जुन कुमाल शतक बनाउनबाट १० रनले चुके। नेपालले आठौं विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई ९० रनमा गुमाउन पुग्यो।
१ सय ४ बलमा १२ चौका हानेका अर्जुन ९० रन बनाउँदा क्याच आउट भए।
कप्तान कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। ३४ बलमा ५ चौका र १ छक्का प्रहर गरे ।
सुरुवातमा नै २ विकेट गुमाएको नेपालका लागि तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे। ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए।
आकाश चन्दले १४ रन थपे। आशा गरिएका कप्तान देव खनाल र अनुभवी अलराउण्डर गुल्सन झा आजको खेलमा चल्न सकेनन्। गैरजिम्मेवार ब्याटिङ गरेका देव र गुल्सन लामो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे। गुल्सन झा २ रनमा क्याच आउट भए।
विकेट किपर उत्तम मगर शुन्य रनमा आउट भए।सुवास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे।
नेपाललाई रोक्न माट रोवेले ३ विकेट लिए। एवाल्ड ओस्कार ज्याक्सनले समान २ विकेट लिए। मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले एक एक विकेट आफ्नो नाममा पारे।
त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको विशाल योगफल तयार पारेको थियो।
नेपालविरुद्ध स्नेहित रेड्डीले १ सय ६ बलमा ८ चौका र २ छक्का हान्दै १ सय ४७ रनमा नटआउट रहे। नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन खर्चे। गुल्सन झाले आफ्नो स्पेलमा ६१ रन खर्चेर २ विकेट लिए।
दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे। तिलकले आफ्नो स्पेलमा ५० रन खर्चेर १ विकेट लिए।








