नेपालको पर्यटनमा महिलाको अवस्था

काठमाडौँ । नेपाल आतिथ्यताका लागि विश्वसामु नै परिचित छ । पर्यटनमा ‘प्रोडक्ट’ चाहिन्छ । ‘प्रोडक्ट’ मात्र भएर पनि हुँदैन, ‘प्रोडक्ट’लाई सजिसजाउ गरेर पस्कने खुबी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

‘प्रोडक्ट’ पस्कने खुबी भनेको नै आतिथ्यता हो । यहाँको आतिथ्यता उत्कृष्ट भएकाले नै विभिन्न देशहरूबाट पर्यटक आउने गर्दछन् ।

हाम्रो देश विविधताले भरिपूर्ण छ । यहाँ भौगोलिक मात्र नभएर जाती, धर्म र परम्परागत हिसाबले पनि विविधीकरण पाइन्छ । सानो भूपरिवेष्टित देशमा पनि विभिन्न किसिमका विविधतामा रमाउन सकिने हुनाले यहाँ पर्यटकको आकर्षण रहेको छ ।

आतिथ्यतामा पुरुषको तुलना महिलासँग गर्न सकिँदैन । आतिथ्यतामा पुरुषभन्दा महिला अग्रणी स्थानमा रहेको हुन्छ । महिलाहरूको व्यवस्थापन र आतिथ्यता उत्कृष्ट हुने गर्दछ । तर, यति हुँदा-हुँदै पनि नेपालको पर्यटनमा महिलाहरूको उपस्थिति चित्त बुझ्दो छैन । जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिलालाई धरती, नारीशक्ति इत्यादि नामले व्याख्या गरेर प्रशंसा गरिएपनि उनीहरूको उचित प्रतिनिधित्व भने अझै हुन सकेको छैन ।

पर्यटन क्षेत्रमा महिला सहभागिता विगतको तुलनामा केही मात्रा बढेतापनि नेतृत्व तहमा भने अझै पनि उपस्थिति न्यून रहेको छ । आरक्षणले गर्दा महिलाहरूलाई विभिन्न सङ्घसंस्थाहरूमा प्रतिनिधित्व गराउने गरिन्छ । महिलाको अनुहार देखाउन वा भनौँ आरक्षण भरणपोषणमा महिलाको खोजी हुने गर्दछ । तर, जब एउटा क्षमतावान् महिलाले नेतृत्व गर्छु भनेर अगाडी आउँछिन् तब पुरुषहरू पितृसत्तात्मक सोचबाट अछुतो रहन सक्दैनन् ।

महिलाको नेतृत्वमा बस्न हिचकिचाउँछन् । एउटा सरल उदाहरण दिनुपर्दा अहिले ग्रामीण पर्यटनमा होमस्टेको निकै चर्चा छ । होमस्टे चलाउने व्यवस्थापन गर्ने यावत कुराहरू महिलाले गरिरहेकी हुन्छिन् । तर, जब बाहिरी परिवेशमा नेतृत्वको सवाल आउँछ तब पुरुषहरूले अगुवा गरिरहेको देख्न सकिन्छ ।

घरमा श्रीमतीले पर्यटकलाई आतिथ्यता गर्न उत्कृष्ट सेवाको लागि व्यवस्थापन गरिरहेकी हुन्छिन् । यता बाहिर होमस्टे सञ्चालक हुँ । ‘म होमस्टेको नेतृत्व गर्छु’ भन्दै पुरुषहरू छाती फुलाएर हिँडिरहेको देख्न सकिन्छ । यस्तै महिलाको नाममा व्यवसाय दर्ता हुँदा छुट पाइन्छ, भन्ने सहुलियतले पनि व्यवसाय श्रीमतीको नाममा दर्ता गरिन्छ । तर, उसलाई व्यवसायको कुनै पनि क्रियाकलापमा सामेल गराइँदैन । उनीहरूलाई व्यवसायमा के-कस्तो अवस्था छ । के भइरहेको छ भन्ने पनि पत्तो हुँदैन ।

उसको पछाडि बसेर पुरुषले नै घुमाइरहेका हुन्छन् । यस्ता प्रकारका आरक्षण र सहुलियत वरदान भन्नु कि अभिसाप भन्नु । दोष पुरुषलाई मात्र थोपर्ने भन्दा पनि हामी महिलाले पनि बाहिरी समाजको परिवेश बुझ्न भने जरुरी छ । आफ्नो क्षमता अभिवृद्धि गर्दै अघि बढ्न घरको चार दिवारबाट बाहिर निस्किनु भने आवश्यक छ ।

मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको र प्रतिस्पर्धात्मक ढंगले विकास भइरहेको पर्यटन व्यवसायलाई अझ गति दिन महिला सहभागिता बढाउनु जरुरी छ । प्रायजसो घरायसी काममा सीमित हुनुपर्ने बाध्यतामा रहेका महिलाहरू पर्यटन क्षेत्रमा हेर्ने हो भने केवल प्रतिनिधि पात्रको रूपमा सीमित रहेको पाइन्छ ।

पर्यटन क्षेत्रका विभिन्न विधामा छिटफुट रूपमा महिला देखिएपनि उनीहरूको संख्या निकै न्यून भएकाले कसरी उनीहरूको सहभागिता बढाउने रु भन्ने चिन्ताको विषय बनेको छ । त्यसका लागि उनीहरूलाई पहिले त घरपरिवारबाट नै उत्प्रेरणाको आवश्यकता छ ।

यसैगरी उद्यमशीलता र सीपमूलक तालिमको निकै खाँचो देखिन्छ । यसका लागि राज्यले खासै योजना बनाउने र लगानी गर्ने काम गरेको पाइँदैन । पर्यटन क्षेत्रसँग सम्बन्धित केही सरकारी र गैह्रसरकारी संस्थाले महिला लक्षित केही काम गर्न खोजेको जस्तो देखिएपनि त्यसको प्रभावकारिता खासै देखिन्न ।

विश्व पर्यटन सङ्गठनका अनुसार विश्वका प्रायः देशहरूमा पछिल्लो समय पर्यटन व्यवसायमा महिलाको भूमिका बढ्दै गएको छ । तर  नेपालमा भने त्यो स्थिति अझै जहाँको त्यही छ । हाम्रो देशमा पर्यटन क्षेत्रमा लाग्दा अझै पनि महिलाहरूलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । यस क्षेत्रमा लाग्दा आफ्ना छोरी चेलीहरू बिग्रन्छन् कि भन्ने सोचले पनि हाम्रो समाजले उनीहरूलाई यस क्षेत्रमा लाग्न प्रोत्साहित नगरेको अनुभूति हुन्छ ।

अहिलेको खुल्ला र प्रतिस्पर्धी समयमा महिला सशक्तीकरणको आवाज निकै उठ्ने गरेको सन्दर्भमा उनीहरूलाई पर्यटन क्षेत्रमा लाग्न अभिप्रेरित गर्नु अत्यावश्यक भइसकेको छ । पर्यटन उद्योग एउटा यस्तो उद्योग हो जहाँ उच्च लगानी भएका, लगानी कम भएका वा लगानी गर्न सक्ने अवस्था नभएका व्यक्तिहरूले पनि यस क्षेत्रमा कार्य गर्न सक्छन् ।

हाम्रो जस्तो निर्यात कम भएको र बाहिरी मुलुकबाट साना-साना आवश्यकताका चिजहरू पनि आयात गर्नुपर्ने मुलुकले आफ्नो अर्थतन्त्रलाई समानान्तर हिसाबले चलाउन पर्यटन उद्योगलाई जोड दिनुपर्दछ । अब देशको आर्थिक समृद्धिको आधार पर्यटनलाई बनाउन जरुरी छ । पर्यटनको दिगो र व्यवस्थित विकासका लागि महिलाको भूमिका उच्च रहनेमा सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया

One thought on “नेपालको पर्यटनमा महिलाको अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *