समिति सभापतिको गुनासो-मन्त्रीहरूलाई एकैदिन धेरै समितिले बोलाउँदा समय निकाल्न गाह्रो

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिसँग छलफल गरेका छन् ।

आईतवार सिंहदरबारमा संसदीय समितिका सबै सभापतिहरुसँग सभामुख घिमिरेले छलफल गरेका हुन् । छलफलमा संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा सभामुखले राखेको सभामुखको भनाइ उद्धृत गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए ।

उनले संसदको हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेकाले सो बारेमा पनि छलफल भएको बताए । उनले एउटै विषयहरु विभिन्न समितिले हेर्ने गरेको बारेमा पनि छलफल भएको बताए ।

उनले भने, ‘अब संसदलाई एउटा कार्यदिशा नयाँ रुपले लिएर जानका निम्ति क्यालेण्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ ? र सबै पार्टीका प्रमुख सचेतकहरुसँग बसेर क्यालेण्डरको रुपमा यति समयदेखि यति समय हिउँदे अधिवेशन चल्छ, यति समय वर्षे अधिवेशन चल्छ भन्ने एउटा क्यालेण्डर बनाएर जान सकियो भने त्यो पनि उपयुक्त हुन्छ । यसमा कसरी जाने ? विशेष गरी विधेयकहरु समितिबाट छिटो भन्दा छिटो आइ सदन चल्न अझै सहज हुन्थ्यो र कतिपय कुरामा विभिन्न सहमतिहरु बीचमा एउटै समितिले हेरेको । जस्तै एनसेलकै प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिले हेरेको छ । यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो । एकैदिन मन्त्रीहरुले तीन, चार वटा समितिमा बोलाउँदा मन्त्रीहरुले नभ्याउने, कतै गयल हुने, उपस्थित हुन नसक्ने भन्ने लगायतमा पनि छलफल भयो ।’

समिति सभापति खतिवडाले सभामुखसँगको छलफलमा एकैदिन धेरै समितिले मन्त्रीहरुलाई बोलाउँदा मन्त्रीहरुलाई समय निकाल्न कठिन भएको बारेमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =