प्रधानमन्त्री कप : मधेससंग कर्णाली ६१ रनले स्तब्ध

 

काठमाडौं । प्रधानमन्त्री कप अन्तर्गत लिग चरणको १८ औं खेलमा मधेश प्रदेशले कर्णालीलाई ६१ रनले पराजित गरेको छ ।

मधेशले प्रस्तुत गरेको २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ७० रन मात्र जोड्न सक्यो । कर्णालीका अर्जुन घर्तीले ५८ रन जोड्नुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा टोलीले हार बेहोरेको हो ।

कर्णालीका लागि विपिन शाहीले ३१ तथा तल्लोक्रममा दिनेश अधिकारीले ३३ रनको योगदान दिए । शीर्षक्रममा कप्तान रविन्द्र शाही १, हिमान्शु शाही २ तथा निश्चल रावल ४ रनमा आउट हुँदा टोली समस्यामा परेको थियो ।

मधेशका लागि राजेश यादवले २ र प्रदीप पासवानले २ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रंजित कुमार, हरिशंकर शाह र पवन सर्राफले १–१ विकेट लिए ।

त्यसअघि कप्तान हरिशंकर शाह र मयन यादवको अर्धशतकको मदत्मा मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोडेको थियो । मधेशका लागि कप्तान हरिशंकर र मयनले समान ५०–५० रन जोड्दा अनिल शाहले ४४ रन जोडे । टस जितेर ब्याटिङ रोजेपछि उत्कृष्ट सुरुवात पाएको मधेशको मध्यक्रम भने सोचेजस्तो चल्न सकेन ।

तीव्र गतिका बलरले राम्रो सुरुवात दिलाउन नसक्दा कप्तान रविन्द्रजंग शाहीले स्पिनरमा धेरै भर परेका थिए । बायाँ हाते स्पिनर दीपेन्द्र रावतले ४ विकेट लिँदै मधेशको ब्याटिङ धराशायी पारेका थिए ।

पहिलो विकेटका लागि अनिल र हरिशंकरले १३.५ ओभरमा ८५ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए । यी दुईले सुरुवाती ४ ओभरमा ४० रन जोडेपछि कप्तान रविन्द्रले लगातार स्पिनरलाई बलिङमा ल्याएका थिए ।

दीपेन्द्रले अनिललाई १४ औं ओभरको अन्तिम बलमा क्याच आउट गराए । उनले ४४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि रन गति केहि सुस्त बनेको मधेशका कप्तान हरिशंकर २४ औं ओभरमा १ सय १८ स्कोर रहँदा आउट भए । ६१ बलमा ६ चौका प्रहार गरेका उनी पनि क्याच आउट भए ।

त्यसपछि लगात्तर विकेट पतन हुँदा मधेश सम्हालिन सकेन । अघिल्लो खेलमा अर्धशतक बनाएका पवन सर्राफ र निरज यादव दीपेन्द्रकै लगातार ओभरमा शिकार बने । पवनले ११ रन जोड्दा निरजले खाता खोल्न सकेनन् । राहुल मन्डल १० रन र रुपेश सिंह १० रन जोड्दै आउट भए ।

मयनले ८८ बलमा ५ चौकासहित ५० रन जोडे । तर उनी ४५ औं ओभरमा आउट भए । त्यसपछ ३७ बलमा ३४ रन जोडेका अभिषेक तिवारी पनि रनआउट हुन पुगे । राजेश यादव र प्रदिप पासवानले ११–११ रन जोड्दै प्रतिस्पर्धाताम्क योगफलसम्म पुर्याए ।

दीपेन्द्रले ४ विकेट लिँदा अनुज चनाराले २ तथा दिनेश अधिकारी, युनिस सिंह र दिवान पुनले १–१ विकेट लिए ।

यस जितसँगै मधेशको ६ अंक पुगेको छ भने कर्णालीको ४ अंक छ । अंक तालिकामा सुदूरपश्चिम र बागमतीको पनि ६–६ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =