यस्तो मन्दिर जहाँ परापूर्व कालदेखि नै छैन जातीय भेदभाव

काठमाडौँ । तनहुँको भानु नगरपालिका ७ वसन्तपुरमा रहेको प्रसिद्ध धार्मिकस्थल हो, थानीमाई मन्दिर । यहाँ दर्शनका लागि तनहुँ, लमजुङ, गोरखा, धादिङ चितवन, कास्कीलगायतका अन्य जिल्लाबाट धेरै भक्तजनहरू आउने गर्छन् । थानीमाई मन्दिरको छुट्टै मान्यता पनि छ ।

यहाँ अरु महिनामाभन्दा कात्तिक महिनामा यस मन्दिरमा भक्तजनहरूको भिड हुने गर्दछ । साउनबाहेक अन्य महिनाको सोमबार मंगलबार पञ्चेबाजासहित फूलको डोली लैजाने क्रम सुरु हुन्छ । अरु महिनाभन्दा कात्तिकको पहिलो, दोस्रो र तेस्रो हप्ता अत्यधिक भीड हुने गर्दछ । पछिल्लो समय कोभिड-१९ ले गर्दा भक्तजनहरू आउन छोडेका थिए । तर अहिले भने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

थानीमाई मन्दिर प्रवेशमा कुनै पनि जातजातिको भेदभाव रोक लगाइँदैन । यहाँ विभिन्न जातका भक्तजनहरू आई पूजाआरधाना गर्ने गर्दछन् । जातीय भेदभावबाट मुक्त धार्मिक स्थलको रुपमा यो मन्दिरलाई चिनिने गर्दछ । थानीमाई मन्दिरमा अनेकौँ कष्टका बाबजुद पनि पैदल वा सवारी साधनामा समेत टाढा-टाढाबाट भक्तजनहरू फूलको डोली लिएर आउने गर्दछन् । आफूले मागेका मन्नत पुरा भएपछि भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित दर्शन गर्न आउने गर्छन् । फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक परिक्रमा गरि मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको फूलको डोरी तोरणलाई मन्दिर वरपर ३ फन्का घुमाएर बाँध्ने गरिन्छ ।

पहिले बाटो राम्रो नभएको कारण भक्तजनहरू त्यति धेरै आउने गर्दैन थिए । केही वर्षअगाडि थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनहरूको सङ्ख्यामा पनि त्यतिनै थप वृद्धि हुँदै गएको छ । कच्ची रोड भएको कारण अत्यधिक धुलो हुने गर्दछ । अहिलेसम्मपनि कालोपत्रे नभएको त्यहाँको स्थानीय बासिन्दाको गुनासो छ ।

भक्तजनहरू सोमबार आफ्नै घरमा पूजा लगाई नाचगान गरि रात बिताएर फूलको डोली पञ्चेबाजा र भजन गाउँदै मंगलबार बिहान मन्दिर जाने गर्दछन् । टाढा टाढाबाट आएका भक्तजनहरू र विभिन्न मन्नत माग्नको लागि सोमबार राति नै मन्दिरमा बत्ती बाल्ने भक्तजनहरूको भिड लाग्ने गर्दछ । रात काट्नको लागि भक्तजनहरू भगमानको नाम लिई भजन गाउने नाचगान गर्ने गर्दछन् । यहाँ मानिसहरु विभिन्न आस्था र भरोसा लिएर मन्नत माग्नको लागि विभिन्न जिल्लाहरूबाट तीर्थव्रत बस्ने र दर्शन गर्न आउने गर्दछन् ।

मन्दिर दर्शनका लागि एक वर्षमा झण्डै ७ सयभन्दा बढी फूलको डोली थानीमाई मन्दिरमा ल्याउने गरिन्छ भने ६० हजार भन्दा बढी भक्तजनहरू आउने अनुमान छ । मन्दिर परिसरभन्दा झण्डै ७ सय मिटर वर नै सवारी साधनका लागि पार्किङको व्यवस्था गरिएको छ ।

थानिमाई मन्दिर सामुन्द्रिक सतह देखि करिब १२ सय मिटरमाथि पर्दछ । यो मन्दिरको छुट्टै विशेषता रहेको छ । यो मन्दिर अग्लो स्थानमा पर्ने भएकोले यहाँ चिसो हावा आउने गर्दछ । यहाँबाट विभिन्न ठाउँहरू गोरखाको, लिगलिग कोट, पालुङ्टार, राइनसकोट, आँपपिपल, धमिलिकुवा, पश्चिमतर्फ माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमशृङ्खला, उत्तरमा गणेश हिमाल लगायतका निकै सुन्दर हिमाली दृश्यहरू देख्न सकिन्छ । फाउदी खोला, आदिकवि भानुभक्तको जन्म स्थान भएर बग्ने नागबेली बगेको चुँदी खोला, तनहुँको अग्लो चुचुरो छिम्केश्वरी, दोस्रो अग्लो चुचुरो एवं पर्यटकीय क्षेत्र मिर्लुङकोट, तनहुँसुर दरबार र लमजुङको राईनसकोट लगायत गगनचुम्बी पहाडहरूको दृश्य पनि देख्न सकिन्छ ।

थानीमाई मन्दिरको स्थापना कसरी भयो ?
स्थानीय बासिन्दाहरूको भनाई अनुसार ४ सय वर्षअघि लेक (भोट)बाट एक भोटिनीको आमाछोरी जडीबुटीहरू बेच्दै वसन्तपुर गाउँमा आए । जडीबुटी बेच्दैगर्दा साँझ परेपछि गाउँमा बास माग्दा टुनामुना लाउन सक्ने डरले गाउँलेहरूले बास दिएनन् । कसैले बास नदिएपछि उनीहरु वसन्तपुरको डाँडामा रहेको एउटा कटुसको बोटमा आश्रय लिन पुगे ।

चैतको महिना थियो राति असिना पानीसहित ठूलो हावाहुरी चल्यो । त्यसै क्रममा भोटिनीका आमाछोरीको त्यहीँ मृत्यु भयो । त्यस दिनदेखि त्यस गाउँमा भूतले तर्साउने, बाघले रातभरि सुत्न नदिने जस्ता विभिन्न दैविप्रकोप प्राकृतिक प्रकोपले सताउन थाल्यो । केही समयपछि स्थानीयवासी जमलसिंह पाटामगरलाई  राती सपनामा ती भोटिनीका आमाछोरी थानीमाईको रूप लिएर त्यही स्थानमा बसेको देखेका थिए । त्यस स्थानमा उनीहरूको पूजाआजा गरी फूल चढाए दुःख दिन छाड्ने सन्देश पाएपछि उक्त स्थानमा पूजाआजा गर्न थालियो ।

देवीले भने अनुसार सोमबार राती सत्यनारायणको पूजा लगाई मंगलबार फूलको डोली चढाउने गरिएको स्थानीयवासीहरू बताउँछन् । मन्दिरभित्र भोटिनी आमाछोरीको सिलामा पूजाआजा गरिन्छ । प्रत्येक वर्ष कार्तिकको पहिलो मंगलबार स्थानीयवासीहरूको घरहरूबाट फूल अक्षता ल्याएर चढाएपछि मात्र अन्य दर्शन गर्न आउनेहरूले मन्दिरमा फुलको डोली चढाउने चलन रहेको छ ।

मन्दिर जाने बाटो
डुम्रेबाट करिब १८ किलोमिटर लमजुङ बेसिशहर जाने राजमार्गको भानु-९,बाईसजंगारबाट भित्र ८ किलोमिटर उत्तर-पश्चिमतर्फको कच्ची सडक पार गरेपछि थानीमाई मन्दिर जान सकिन्छ । हिँडेर पनि थानीमाई पुग्न सकिन्छ । उक्त बाटो पिच भएमा भक्तजनहरू र अन्य पर्यटकहरूको अझ बढी घुइँचो लाग्ने स्थानीयवासीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *