रैथाने बालीका उत्पादनमा वृद्धि गर्नू हाम्रो चुनौती हो : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रैथाने बाली र पशुपंक्षीहरुको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले रैथाने बालीहरूको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको बताए ।

उनले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न संकट निम्तिने बताए । उनले खाद्य संकट र रैथाने बालीको सङ्कटको समाधान गर्नुपर्ने बेला आइसकेको बताए ।

उनले भने ‘वातावरणीय परिवर्तनसँगै धेरै खालका जीवजन्तु र वनस्पतिहरूको जीवनलिला समाप्त भएको छ । अहिले पनि हाम्रो जलवायु परिवर्तन त व्यापक रुपमा हुँदै गइरहेको छ । यस्तो परिस्थितिमा सबै बाँच्छन् भन्न सकिँदैन । भूगोलमा वस्तुगत अस्तित्वमा । तर कम से कम लिपिबद्ध गरेर राख्ने हो भने त्यो लेखनमा त बाँच्छ नि । हामीले जैविक विविधताको चर्चा गरिरहेका छौँ । एकातर्फ हामीले रैथाने बालीको संरक्षण गर्नुपर्ने छ । हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपंक्षीहरुको संरक्षण पनि गर्नुपर्ने छ । साथै हाम्रा चुनौती उत्पादन वृद्धि गर्नुपर्नेछ । हामीले तिनै रैथाने बालीबाट हामीलाई चाहिने जति उत्पादन गर्नसक्छौँ की सक्दैनौँ ? यो एउटा गम्भीर प्रश्न हाम्रासामु छ । रैथाने बालीलाई बढी उत्पादक बनाउन सकिन्छ की सकिँदैन । यिनीहरूलाई बढी उत्पादनशील बनाउन सकियो भने त हामीले अर्को बीउ खोज्न परेन । उत्पादनमा वृद्धि गर्न नसक्ने हो भने यिनीहरूको संरक्षण निश्चित क्षेत्रमा राखेर गरौँ । उत्पादन बढी गर्न अर्को बढी उत्पादनशील बीउको प्रयोग गर्नैपर्छ । नत्र भने खाद्यान्नमा संकटमा जाँदैछौँ । एकातिर रैथाने जैविक विविधता संकटमा परे भन्दैछौँ । अर्कोतर्फ खाद्य संकटमा परेका छौँ । खाद्य संकट र यिनीहरूको सङ्कटको पनि समाधान गर्नुपर्नेछ ।’
मन्त्री भुसालले रासायनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए ।








