सवारी दुर्घटना

सडक दुर्घटनाको डरलाग्दो रूप, सरकारलाई छैन चासो

काठमाडौं । गत शनिबार चन्द्रागिरि नगरपालिका-४ पानीघाट नजिक हिमचुली सेतो पहरामा कार दुर्घटना भयो । उक्त दुर्घटनामा परि एकै परिवारका ५ जनाको मृत्यु भयो ।

शनिबार डा.महेशकुमार गौतमको परिवार चन्द्रागिरिस्थित भालेश्वर मन्दिरको दर्शनका लागि काठमाडौँबाट निस्किएको थियो । घुमघाम र दर्शनका लागि हिँडेका परिवारका ५ सदस्य मन्दिर पुग्न नपाई बीच बाटोमै अस्ताए ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेको कार अनियन्त्रित भई ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा डा.गौतमसहित उनकी सासु ६४ वर्षीया कल्पना तिवारी, ससुरा ६७ वर्षीय ओमकार निधि तिवारी, छोरी स्मारिका गौतम र छोरा प्रियान्स गौतमको ज्यान गएको थियो ।

सोही दुर्घटनामा परेकी डा. गौतमकी श्रीमती सुष्टि गौतम भने सकुशल रहन सफल भइन् । यो घटना सेलाउन नपाउँदै, सोही दिन चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिता अधिकारीले बागलुङको ढोरपाटन नगरपालिका-५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा ज्यान गुमाइन् ।

बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्म घर देखिकी थिइनन् । बिदामा बेलायतबाट नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् । तर दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन् । तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् ।

सञ्जिता आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । तर अब उनी कहिल्यै नउठ्नेगरि लडेकी छन् । यी दुई दुर्घटना त केबल उदाहरण मात्रै हुन् । यी र यस्तै दुर्घटनाको शृङ्खला दिनानुदिन बढ्दै गइरहेका छन् ।

यी दुई दुर्घटना यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । प्रहरीले यी घटनामा अनुसन्धान गरिरहेको बताएको छ । पछिल्लो समय बढ्दै गएको दुर्घटनामा सवारी चालकको लापरबाही र सरकारीको नियमनकारी निकायका कमजोरी नै प्रमुख कारण मानिन्छन् ।

दुर्घटनामा चालकलाई दोषी भेट्दा कानुनी दण्ड गर्ने सरकार सडक निर्माण र कमजोर सवारीसाधनका कारण भएका दुर्घटनालाई भने नजरअन्दाज गर्छ । सडक र सवारी व्यवस्थापनमा चुकेको सरकार र चालकबाट भएका लापरबाहीकै कारण औसतमा दैनिक ७ जनाको मृत्यु भइरहेको तथ्यतर्फ पनि कसैको ध्यान गएको छैन ।

प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता दानबहादुर कार्कीका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म मात्रै १० हजार ७४५ वटा दुर्घटना भएका छन् ।

जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।

उनी भन्छन्, ‘चालक र यात्रुको लापरबाही, तीव्र गति, मदिरा सेवन, यान्त्रिक गडबडी, ओभर लोड र गलत ओभरटेकका कारण दुर्घटनाको दर बढ्दो छ ।’

सरकारलाई रास्वपाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ?’

ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताएका थिए । उनले सरकारले समस्याको समाधान गर्ने गरी काम गरिरहेको बताए । ‘हामी यसमा गम्भीर छौं र तपाईँले दिएको सुझाव र प्रश्नहरूको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ,’ उनले भने ‘मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ ।’

उनले सरकार सवारी साधन दुर्घटनाको न्यूनीकरणका लागि आवश्यक काम गरेर अघि बढी रहेको बताएका थिए । ‘घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ । सडकलाई खाल्डाखुल्डी रहित बनाएर हुन्छ की, सडक सुधारका कामलाई तीव्रता दिएर हुन्छ की ? सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ की ? चालकलाई प्रशिक्षण दिएर हुन्छ की ? ’उनले भने ‘हामी समस्याको निराकरण गर्नेकुरामा हामी गम्भीर छौँ ।’

दुर्घटना न्यूनीकरण कसरी गर्ने ?

सडक दुर्घटना अहिले समाजमा घट्ने घटना मध्ये सबैभन्दा डरलाग्दो घटना हो ।

सडक दुर्घटनाबाट धेरैले आफन्त गुमाउनु परेको छ भने कतिपयले सानो उमेरमा नै आफ्नो ज्यान समेत गुमाउनु परेको छ ।

दुर्घटनाबाट बचेँकाहरु पनि अपाङ्ग भएर बाँच्नु परिरहेको छ । सवारी दुर्घटनाबाट बच्नको लागि सामान्यतया यी उपायहरु अपनाउन सकिन्छ :

  • चालकले यात्रामा हतार गर्नु हुँदैन
  • सवारी चलाउँदा अन्यत्र ध्यान नदिने
  • प्रतिस्पर्धाको भावना लिइ सवारी नचलाउने
  • तीव्र गतिमा सवारी नचलाउने
  • जथाभाबी सडक पार नगर्ने
  • मापसे गरि सवारी नचलाउने
  • मोटरसाइकल चलाउँदा अनिवार्य हेलमेट लगाउने
  • सिट भन्दा बढी यात्रु र क्षमता भन्दा बढी भार बहन नगर्ने
  • पिर चिन्ता र झगडा गरि सवारी साधन नचलाउने
  • गलत साइडबाट र जथाभाबी ओभरटेक नगर्ने
  • सडक प्रयोगकर्ता सबै जना आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्ने
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *