भारतीय सवारी साधनहरू देशभर घुमिरहेकोले अस्वस्थ प्रतिस्पर्धा बढ्यो : सरोज सिटौला

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त अवस्था रहेको बताएका छन् ।
मङ्गलवार धनगढीमा यातायात व्यवसायीहरूसँगको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो बताएका हुन् । उनले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धान बिना यातायात समितिहरूलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको बताए ।
उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धान बिना कम्पनीमा रूपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गरे । यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावक विहीन अवस्थामा रहेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ ।
उनले २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्बित वा कोमामा रहेको बताए । उनले यातायात क्षेत्र कम्पनीमा लैजाने निर्णयपछि बन्नुपर्ने नीति र कार्यविधि अहिलेसम्म बन्न नसकेको बताए ।
उनले सरकारले कम्पनीको रुपमा कुनैपनि कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खोल्ने प्रवृद्धि बढ्दा अस्वस्थ प्रतिस्पर्धा बढेको बताए । उनले सरकारसँग कुन सवारी साधन कहाँ जाने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएको कारण पनि सडक दुर्घटना बढी रहेको बताए ।
उनले भने ‘नेपालको यातायात क्षेत्र सङ्क्रमणकालीन र जर्ज परिस्थितिमा छ । सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर अनुसन्धान बिना कम्पनीमा रूपान्तरण गर्ने निर्णय ग¥यो । त्यो निर्णयले गर्दा नेपालको यातायात क्षेत्र छेदविछेद भएको छ । सरकार नयाँ ढङ्गमा जान खाजेको होला भन्ने सोच्यौँ । तर सरकारले यातायात क्षेत्रलाई अभिभावक विहीन बनायो । २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्बित वा कोमामा छन् । यातायात क्षेत्र कम्पनीमा गएपछि जुन विधि र कार्यविधि बन्नुपर्ने हो । कुनै कार्यविधि अहिलेसम्म बनेको छैन । अहिलेसम्म सरकारले कम्पनीको रुपमा कुनैपनि कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको छ । त्यसले अस्वस्थ प्रतिस्पर्धा छ । कुन सवारी साधन कहाँ जाने भन्ने कुनैपनि विधि पद्धति बनेको छैन । त्यसको कारण पनि सडक दुर्घटना बढिरहेको छ । यातायात व्यवसायीहरूले राखेका मागहरू सम्बोधन नभएको कारण समस्या छ । ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरू भित्रिएर देशभर घुमिरहेको कारणले अस्वस्थ प्रतिस्पर्धा बढेको छ । त्यसले नेपाली यातायात क्षेत्र धरापमा परेको छ । सडक दुर्घटना किन र कसरी हुन्छ भन्ने विषयमा समेत हुनै निष्कर्षमा राज्य पुग्नसकेको छैन । सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरू समस्यामा छन् । राज्यले कानुनमा भएका व्यवस्थालाई व्यवहारमा लागू गरेको छैन ।’
सरकारले यातायात व्यवसायीहरूले राखेका मागहरू अहिलेसम्म सम्बोधन नगरेको आरोप लगाए । उनले ७२ घण्टाको नाममा भारतीय नम्बर प्लेटका सवारी साधनहरू भित्रिएर देशभर घुमी रहेको कारणले अस्वस्थ प्रतिस्पर्धा बढेको बताए । उनले सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरू समस्यामा रहेको बताए ।








