रुस–युक्रेन युद्धमा माओवादी नेताको मृत्यु

काठमाडौं । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताको मृत्यु भएको छ ।

लमजुङका वाईसीएल नेता साजन गुरुङको केही हप्ताअघि रुस–युक्रेन युद्धमा मृत्यु भएको हो ।

लमजुङको दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए ।

‘पारिवारिक स्थितिका कारण वैदेशिक रोजगारीमा जाँदैछु भन्दै हुनुहुन्थ्यो’ सुनारले भने, ‘हामीले कुनै खाडी मुलुकमा जाँदै हुनुहुन्छ भन्ने सोचेका थियौँ, तर रुसी सेनामा भर्ती हुन जानु भएको रहेछ, यस्तो खबर सुन्नु पर्‍यो ।’

पूर्वी लमजुङको गोरखासँग सीमा जोडिएको दूधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो । यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको थियो ।

साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध थिए । पार्टी जिल्ला सचिव सुनारका अनुसार श्रीमान् हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन् ।

श्रीमानका अनुसार, युक्रेनको आक्रमणका परी साजनको मृत्यु भएको खबर जर्मनीमा रहेका उनका कान्छा छोरा कुमारले दिएका थिए । साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + two =