विश्वकप अघिको खेलमा यू–१९ नेपाली टिमले स्कटल्याण्डलाई हरायो

यू–१९ विश्वकप अघिको अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई सहजै पराजित गरेको छ। स्कटल्याण्डको यू–१९ टिमविरुद्ध नेपाली टोली ७ विकेटले विजयी भएको हो।
खेलको निर्णय डिएलएस मेथडबाट लिइएको थियो। दक्षिण अफ्रिकामा शनिबार वर्षाले प्रभावित भएको खेलमा स्कटल्यान्डले दिएको ११५ रनको झिनो लक्ष्य भेट्टाउन १६ रन आवश्यक हुँदा खेल प्रभावित भएको थियो।
नेपालले २९।१ ओभरमा ९९ रन बनाउँदा मात्रै ३ विकेट गुमाएको थियो। नेपालका लागि अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४४.४ ओभरमा ११४ रनमै अलआउट भएको थियो। उसका लागि यु अहमदले सर्वाधिक ३१ रन जोडे।
बलिङमा नेपालका गुल्सन झा र तिलकराज भण्डारीले समान ३ विकेट लिए। अब नेपालले मंगलबार वेस्ट इन्डिजसँग दोस्रो अभ्यास खेल खेल्नेछ। यसपटकको यू १९ विश्वकपमा नेपालसहित १६ टिम सहभागी हुँदैछन्। विश्वकपमा नेपाल समूह डी मा छ। नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड यो समूहमा छन्।
नेपालले विश्वकपमा पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ। २४ जनावरीमा पाकिस्तान र २६ जनावरीमा अफगानिस्तानसँग खेल्नेछ।
नेपालले सन् २०१६ पछि यू १९ विश्वकप खेल्न लागेको हो।








