व्यवसायीहरुको माग– हामीलाई पनि राष्ट्रिय मर्यादाक्रममा समेट्नुस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन् ।

शनिवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो माग गरे ।
उनले आफू जिल्लाका व्यवसायीहरुका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरुमा जाँदा पनि व्यवसायीहरुले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रुपमा उठाइरहेको बताए ।

उनले उत्कृष्ट व्यवसायी सम्मान (सिआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे ।

उनले व्यावसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताए । यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ ।

उनले भने– ‘यहाँ निजी क्षेत्रका साथीहरुको चाहे जिल्लामा जाऔँ, चाहे वस्तुगत कार्यक्रमहरुमा होस् । निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ । सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई इन्करेज गरेर उनीहरुको व्यवसायिक एक्टिभिटी बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ भने त्यस्तो किसिमको चाहे मर्यादाक्रमको कुरा होस्, सिआईपीको कुरा गरौँ । सिआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ । यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ । यस्ता समस्याहरु जहाँ नेपाल सरकारले खर्च नगरिकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसावका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सिआईपीको कुरा होस् । चाहे अरु हौसला होस् यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ ।’

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताए ।

अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरु निकायहरुको बीचमा छलफल भइरहेको भन्दै कसरी टुंगोमा पुग्ने भन्नेकुराको छलफल जारी रहेको बताए ।

उनले चाँडै नै उद्योगीहरुको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरु सम्बन्धित निकायहरुसहितको बैठक बोलाउने पनि बताए ।

उनले भने– ‘हाम्रो उद्योग वाणिज्य महासंघको अध्यक्षजीले मर्यादा क्रमको कुरा भन्नुभएको छ । त्यो बारेमा समग्र मर्यादाक्रमकै बारेमा अहिले मन्त्रालय र सरकारको अरु निकायहरुको बीचमा छलफल भइरहेको छ । त्यो बारेमा हामी एउटा टुंगोमा कुन ढंगले हुन्छ, कस्तो प्रकारले हुन्छ टुंगोमा पुग्नेछौँ । अहिले छलफलको क्रममा छ । भन्नुभएको छ । मिसनहरुमा एउटा कमसेकम प्रदर्शनी कक्ष हस्तकलाको सामग्रीहरुको भइदिए हुन्थ्यो भन्नुभएको छ । त्यो पनि विचारणीय कुरा छ । सम्माननीय प्रधानमन्त्रीको समय उपलब्ध हुनसके प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित अरु सम्बन्धित निकायहरुसहितको बैठक आयोजना गरिनेछ । नभए आफ्नै पहल कदमीमा भएपछि सम्बन्धित सबै मन्त्रालय र निकायको बैठक आयोजना कम्तीमा १५ दिन भित्र आयोजना गरेर गर्न सकिने नीतिगत निर्णय र अरु निर्णय गर्ने पहल गछर््ु ।’

निजी क्षेत्रमा नीतिगत र अन्य समस्याहरु सम्बोधन गर्न १५ दिन भित्र प्रधानमन्त्रीसहितको बैठक बोलाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =