बसमा चढ्दा कहिले ‘ब्लाकलिष्ट’मा पर्नुभएको छ?

बेलुकी अफिसबाट निस्कदा करिब ७ बजेको थियो । म हतारिदैँ बिजुलिबजारको पुलमा पुगेँ । धेरै ठाउँका बसहरू आइरहे, गइरहे तर निलो बस आइपुगेन । स्टेसनमा उभिएको करिब १५ मिनेट पछि बल्ल आइपुग्यो सरस्वतिखेलको बस ।

बस यात्रुहरूले खचाखच भरिएको थियो । म उभिएरै यात्रा गर्न तयार भए । बस बानेश्वर पुगेर रोकियो । खलासी दाइ यात्रुहरू बोलाउन थाले । ‘कोटेश्वर, बानेश्वर, बोडे, सरस्वतिखेल । कोटेश्वर, बानेश्वर, बोडे, सरस्वतिखेल ।’ यी शब्दहरू बारम्बार दोहोरिन्थे । म लगाएतका यात्रुहरू भने बस गुड्ने प्रतिक्षामा थियौँ ।

लामो समयसम्म पनि बस गुडेन । करिब १५ मिनेटपछि यात्रुहरू लिएर बस पुनः अघि बढ्यो ।
कोटेश्वर पुग्दासम्म बस यात्रुहरूले भरियो । खलासी झ्याल बाहिर बाटै यात्रुहरूलाई भित्र सर्न अनुरोध गरिरहेका थिए । बस भित्र भने मानिसहरू भरिएर हलचल गर्ने ठाउसमेत् थिएन । बेलुकीको समय भएकोले मानिसहरू अटसमटस भएर उभिन बाध्य थिए ।

यो सार्वजनिक यातायातमा हुने गरेको यथार्थ घटना हो । र हामीमध्ये धेरैजना यस घटनाका प्रत्यक्ष पात्र पनि हौँ । तर मलाई बसमा उभिएर यात्रा गर्नु परेकोमा कुनै गुनासो छैन ।

बेलुकीको ८ बजिसकेको थियो । बस जडीबुटी हुँदै गठ्ठाघरतिर अघि बढ्यो । गठ्ठाघरमा थुप्रै यात्रुहरू बस कुरिरहेका रहेछन् । ती मध्य बलिया जवान मानिसहरू बसमा झुन्डिन सफल भए तर महिला, वृद्धहरू त्यति कै छाडिए ।

मलाई उहाँहरूलाई पनि सँगै लिएर जानपाए हुन्थ्यो भन्ने लागेको थियो । तर बस पहिल्यै भरिसकेकोले त्यो सम्भव थिएन ।

बिस्तारै स्टेसनहरूबाट यात्रुहरू ओर्लँदै गए । सानोठिमि पुग्दासम्म बसमा १०, १२ जना मात्र बाकिँ थियौँ । तब एक्कासी बसको स्पिड बढेर रकेटको वेगमा दौडन थाल्यो । बसको सिसा खडक खडक खड्कि रहेका थिए । अन्तिम सिटमा बसेर मोबाइल चलाइ रहेका युवक अनियन्त्रित भएर लड्न पुगे । यात्रुहरू सबै दुइहात माथि उफ्रिएर थच्चारिए । कोही यात्रुहरू उक्त वेगको मज्जा लिइरहेको थिए भने कोही डराइरहेका थिए ।

‘दाइ के को हतारले चलाउनु भएको ? बिस्तारै चलाउनु न ।’ मैले भने । ‘तपाईहरू राम्रोसँग बस्नुस् न ।’ चालकले पनि उस्तै जवाफ दियो । चालकसंग सबैलाई गुनासो थियो तर कसैले त्यहाँ आवाज ठुलो पारेर बोल्न सकेनन् ।

सरस्वतिखेलको बस अक्सर यसरी नै गुड्ने गर्दछ । रत्नपार्कबाट आउँदा कछुवा, सानोठिमि कटेपछि रकेट बन्दछन् उक्त बसहरू । विशेषगरि चालकहरूले धुन्चेपाखा क्षेत्रमा यस किसिमले सवारी चलाउने गर्दछन् ।

दैनिक जसो सञ्चारमाध्यमहरूमा बस, कार, ट्रक, मोटरसाइकलहरू अनियन्त्रित भएर दुर्घटना भएका समाचारहरू आइरहेका हुन्छन् । उक्त दुर्घटनामा निर्दोष मानिसहरूको समेत ज्यान जान्छ । तर हाम्रा देशका चालकहरू अझै सचेत नबन्दा यस्ता दुर्घटना इत्ति पनि कम हुनसकेका छैनन् । उनीहरूका यस प्रवृत्तिलाई बहादुरीको खेल मान्ने गर्दछन् ।

अझै मलाई गुनासो थिएन ।
बस बोडे कटिसकेको थियो । सहचालकले सबैको भाडा उठाउँदै आए । सहचालकले अगाडिको यात्रुसँग भाडा लिदैँ बस दुवाकोट नजाने बतायो । उक्त बसमा दुवाकोट जाने म बाहेक अन्य ३ जना यात्रुहरू रहेछन् ।

हामी सबैजना मिलेर त्यस विषयमा विवाद गर्याै र जसरी पनि दुवाकोट पुर्‍याइदिन भन्यौँ । रातको बेला आधि घण्टा हिँडेर दुवाकोट पुग्नु कुनै सजिलो कुरा थिएन । त्यहिमाथि सुनसान बासघारी त छदैँथ्यो ।

‘सरस्वतिखेलको सबै बस दुवाकोट जान्छ, यो चैँ किन जाँदै न ?, बिहान त दुवाकोटबाट मान्छे हाल्दै आउनुहुन्छ त ?’ मैले प्रश्न गरे । ‘हामीले हालेका छौँ ?’ उक्त चालकको जवाफ मैले बुझ्न सकिन । किनकि सरस्वतिखेलको बस स्टप नै दुवाकोट वडा कार्यालयमा छ । सबै बसहरू दुवाकोट हुँदै नै आउँछन् ।

‘यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यमा पुर्‍याउनु तपाईँहरूको जिम्मेवारी होइन ?’ मैले पुन सोधे ।

‘तपाईँहरूको जिम्मा हामीले लिएका छौँ ?’ जवाफमा आयो । अन्य यात्रुहरू पनि उनीसँग विवाद गर्न थाले ।
त्यतिन्जेलसम्म गाडी सरस्वतिखेल आइपुसिकेको थियो । चालकले बसको चाबी झिक्यो र नजिकैको होटेलमा छिर्याे । सायद होटेल भित्र छिर्नकै लागि उनले रकेटको वेगमा बस हाँकेका थिए ।

हामीले बसबाट नओर्लिने निर्णय लियौँ । सबै यात्रुहरू ओर्लिएर गइसकेका थिए । केहिसमय पछि एउटा अधवैशे मानिस हातमा बेयरको बोतल बोक्दै बसभित्र छिर्याे । उनले यात्रु थोरै भएकाले बस दुवाकोट नजाने बताए । हामी सबै मिलेर अझै ठुलो गनगन गर्न थाल्यौँ ।

हामीले केही गरे पनि बसबाट नओर्लने अडान राखेपछि उक्त व्यक्तिले सह-चालकलाई दुवाकोट सम्म पुर्‍याइदिन भने । तर चाबी चालकसँग भएकोले सहचालक त्यत्तिकै उभिरहे ।

‘तपाईँहरूको समितिको नम्बर दिनुस्, लापरबाही गर्न पाइन्छ ?’ ठुलो र चर्को स्वरमा मैले भने ‘तपाईँहरूलाई नैतिकता भन्ने थाहा छैन ?’

‘हामीले पढेको भए डाइभर, खलासी नै बन्दैनथ्यौँ । ’ सहचालकको उक्त जवाफले वाक्क भए । त्यसपछि म केही बोलिन् ।

ती सबै कुरा चालकले सुनेका रहेछन् । त्यसपछि ‘भोलीदेखि यो केटीलाई बसमा नचढा’ भन्दै चाबी सहचालकको हातमा दियो ।

ती चालकले मलाई ब्लाकलिष्टमा राखे । तर म भोलिपल्ट पनि उही समयमा सरस्वतिखेलको बसमा नै चढे ।

तर आजभोलि सरस्वतिखेलको बस दुवाकोटमा देखिँदैन । सायद यात्रु कम भएर हुनसक्छ । हामी पनि सरस्वतिखेलको बसको आस गर्दैनौँ । यात्रुहरूलाई बसमा चढाएर गन्तव्यसम्म नपुर्‍याउनु गैर जिम्मेवार चालकहरू अहिले पनि हाम्रो समाजमा व्याप्त छन् । वास्तवमै हाम्रो समाजमा शिक्षाको र नैतिकताको आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *