के भन्छन् चाकु बनाउन व्यस्त टोखाका उद्यमी ?(भिडिओ)

काठमाडौं । माघे संक्रान्तिका लागि टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याइभ्याइ छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ ।

माघे संक्रान्तिमा खपत हुने चाकुको माग धान्नको लागि चाकु बनाउन भ्याइनभ्याइ भएको टोखाका चाकु उद्यमीहरूले बताएका छन् । काठमाडौंको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरूले बताए । सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । त्यही परिकार बनाउन अहिले टोखाका चाकु उद्यमीहरूलाई चटारो छ ।

उनीहरुले अन्य समयमा पनि चाकु बनाउने गरेको तर माघे संक्रान्तीमा बढी माग हुने गरेको बताए । चाकु उद्यमीहरूले व्यापारिक प्रयोगको लागि भन्दा पनि पछिल्लो समय अमेरिका, युरोप,अस्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको बताए । व्यवसायीहरूले विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाएको बताए । टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठले टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताए । माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले सीमित उद्यमीहरू भएकाले भ्याइनभ्याई रहेको उनको भनाई छ ।

उनले चाकु परम्परागत रुपमा नै बनाउने भएपनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको बताए । ‘चाकु परम्परागत रुपमा नै बनाउने हो । तर केही वर्षदेखि आधुनिक मेसिनको प्रयोग गरेर पनि बनाउन थालिएको छ । ७५ प्रतिशत चाकु परम्परागत बाँकी आधुनिक मेसिनबाट बनाउने गरिन्छ । चाहेको जस्तो कच्चा पदार्थ हामीले पाएका छैनौँ । चाकु बनाउँदा गुणस्तर चाकु प्रयोग गर्ने कोसिस गरिहरेका छौं । विश्व बजारसम्म लैजाने हिसाबले गुणस्तर कायम गर्न खोजेका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा निर्यात हुने गरेको छ । चिनारीको लागि लगिएको छ । तर गुणस्तरको कारण बजारमा बेचबिखनको लागि निर्यात गर्न सकिएको छैन । पैसाको लागि भन्दा पनि जनताको सुविधाको लागि काम गरिहरेका छौं ।’

टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठले माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई रहेको बताए । उनले माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भएपनि माग बढी हुँदा चाकु बनाउन चटारो रहेको बताए । विगतका वर्षहरू भन्दा यो वर्ष चाकुको व्यापार राम्रो रहेको श्रेष्ठको तर्क छ ।

उनले अन्य समयमा मागअनुसार चाकु बनाइने बताउनु भयो । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको उल्लेख गरे । ‘माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई छ । माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भयो । १४ वटा कम्पनी रहेका छन् । सबैले उत्पादन गरिरहेका छन्,’ उद्यमी श्रेष्ठले भने, ‘यो वर्ष चाकुको व्यापार राम्रो छ । अन्य समयमा अर्डरअनुसार चाकु बनाइन्छ । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको छ । अन्य समयमा बनाएको चाकु बिक्री नहुने गरेको भएपनि अहिले १० दिन अगाडिदेखि भ्याइनभ्याई छ ।’

अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताए । उनले चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई रहेको बताए । उनले टोखाका चाकु उद्यमीहरूले बनाएको चाकु बिक्री नभएको भन्ने अहिलेसम्म नभएको बताए । चाकु अमेरिका र अस्ट्रेलियासमेत जाने गरेको उनको अनुभव छ ।

महिलाहरू सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने र न्यानो हुने भएकाले बढी बिक्री हुने गरेको उनले बताए । ‘चाकुको काम गरेको चार पुस्ता भयो । चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई छ । बनाएको चाकु बिक्री नभएको भन्ने छैन । चाकु अमेरिका र अस्ट्रेलियासमेत निर्यात गर्ने गरेका छौं । काठमाडौं भक्तपुर ललितपुरमा धेरै र बाँकी विदेशमा पनि चाकु हामीले निर्यात गर्छौं,’ उनले भने, ‘नेपालमा गर्मी र विदेशमा जाडो भएको बेलामा मात्रै बढी बाहिर जान्छ । चाकु महिलाहरू सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने भएको र न्यानो पनि भएकाले बढी बिक्री हुन्छ । अन्य ठाउँको भन्दा टोखाको चाकु राम्रो हुन्छ । मंसिरदेखि बनाएको अहिलेसम्म भ्याइनभ्याई छ ।’

माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । चाकु खासगरी जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *