कांग्रेस भोजपुर जिल्ला सभापति बान्तावाको पहलमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर । नेपाली कांग्रेस भोजपुरका जिल्ला सभापति विनोद बान्तावाको पहलमा कांग्रेस नेता तथा सांसद डा. सुनिलकुमार शर्माले भोजपुर जिल्लाका दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा २४ सय बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् ।

पूर्वी पहाडी जिल्लाहरुको भ्रमणमा रहेका सांसद शर्माले नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् ।

को हुन् निःशुल्क स्वास्थ्य शिविर लैजान पहल गर्ने बान्तावा ?
बान्तवा विद्यार्थी आन्दोलनबाट नेपाली कांग्रेसको राजनीतिमा सहभागी भए । २०४५ सालमै उनी नेविसंघमा आबद्ध भए । त्यसबेला उनी भोजपुर नेविसंघ जिल्ला कार्यसमितिको सहसचिव थिए । २०४५ सालबाटै उनी पार्टीको क्रियाशील सदस्य भए ।

उनी २०४६ सालको आन्दोलन अघि नै नेपाली कांग्रेसमा सहभागी भइ कांग्रेसबाटै राजनीति सुरु गरे । नेपाली कांग्रेसको १३औ महाधिवेशनमा उनी महासमिति सदस्य थिए । १२औ महाधिवेशनमा उनले महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए ।

हाल उनी नेपाली कांग्रेस भोजपुर जिल्ला कार्यसमिति जिल्ला सभापति रहेर जनताको सेवामा छन् ।

पुस २३ र २४ गते भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २४१८ जना सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा नोबेल मेडिकल कलेजबाट मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक कान घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायत विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।

पौष २३ गते भोजपुरको हतुवागडी गाउँपलिका वडा नं. २, घोडेटारको सगरमाथा  माध्यामिक विद्यालयमा र पौष २४ गते आमचोक गाउँ पालिका वडा नं. ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी डा.सुनिलकुमार शर्मा थिए । शिविरलाई संवोधन गर्दै उनले शिक्षा र स्वास्थ्य सेवा सर्वसुलभ तथा निःशुल्क हुनुपर्ने बताए । आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउनु पर्ने राज्यको दायित्व भएको जिकीर गर्दै आफु सदैव गरिब, विपन्न नागरिकको पक्षमा रहेको बताए ।

स्वास्थ्य शिविरबाट अपरेशन गर्न रेफर भएका बिरामीहरुलाई विराटनगरको नोबेल शिक्षण अस्पताल तथा काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गर्ने घोषणा गर्दै सांसद शर्माले भने, ‘यो शिविरबाट अपरेशन गर्न रेफर हुनुभएका सम्पूर्ण बिरामीको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु ।’

डा.शर्माले शिविरमा आएका १३८ जना अतिविपन्न नागरिकलाई नोबेलमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको घोषणा गरे ।

शिविरमा नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्यद्वय बिनोद बान्तावा, मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, नेपाली काँग्रेसका क्षेत्रिय सभापति मदन खुलाल, जिल्ला समन्वय समितिका कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष अशोक राई लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा २७५ जनाको भिडियो एक्सरे, १२६ जनाको ईसिजि, ३६१ जनाको ल्याब परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । भने, ३१० जनाको आँखा जाँच, ३५३ जनाको जनरल मेडिसिन, १२५ जनाको छाला रोग, १८५ जनाको स्त्री तथा प्रसुति, ११८ जनाको सर्जरी, ३२५ जनाको हाडजोर्नी, १५० जनाको नाक कान घाँटी, ६० जनाको दन्त रोग, ३० जना बाल रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको छ ।

काठमाडाैं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले सांसद डा. शर्मा जनताले घरदैलाेमै स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने साेच लिएकाे अगाडी बढेकाेले उनकाे साेचलाई पूर्णता दिन काठमाडाैं मेडिकल कलेज पनि सामाजिक उत्तरदायित्व अन्तरगत अगाडी बढिरहेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =