छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका–८ र्कट्टास्थित सडकमा बागमती प्रदेश ०१–०२९ च ०२४८ नम्बरको कार र बागमती प्रदेश ०३–०४ प १९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ४१ वर्षीय धन बहादुर सार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिरहा, बिष्णुपुर गाउँपालिका–४ थल्हास्थित सडकमा से.१ क १३४५ नम्बरको बसको ठक्करबाट सोही गाउँपालिका–४ थल्हा बस्ने राज कुमार साहको छोरा ३ वर्षीय आयाश साहको बुधबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–१४ पलियास्थित सडकमा से.१ क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा ३ वर्षीय कार्तिक कुँवरको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका–६ ऐठपुरस्थित सडकमा म.१ प ४८५२ नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा चालक भिमदत्त नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ४८ वर्षीय महेन्द्र खड्काको मृत्यु भएको छ ।

दुर्घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडा अध्यक्ष खड्कालाई मृत अवस्थामा फेला पारेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका–८ राजाबासस्थित सडकमा प्र.१–०५–००१ ज ००३५ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री रौतामाई गाउँपालिका–७ मुर्कुची बस्ने ३८ वर्षीय तुलसी मङ्ग्रातीको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा, बहुदरमाई नगरपालिक–६ गम्हरीयास्थित सडकमा बिन्दवासिनीबाट डकैलातर्फ जाँदै गरेको प्र.२–०३–००१ प ९९८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–४ बहुअरी बस्ने २३ वर्षीय अकाश प्रसाद रौनियार(गुप्ता) को मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, मोहन्याल गाउँपालिका–७ डङ्डङे खोलास्थित सडकमा भे।१३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार अछाम पञ्चदेवल बिनायक नगरपालिका–१ बस्ने ३८ वर्षीय खगेन्द्र प्रसाद ढकाल र बर्दिया नेउलापुर बस्ने ३४ वर्षीया महेश्वरी तिमिल्सेनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै भक्तपुर, सूर्यविनायक नगरपालिका–९ पलासे फन्डभ्यालीस्थित पर्खालको चेपमा प्रदेश २–०२–०१९ प १७५८ नम्बरको मोटरसाइकलले च्यापिएर मृत्यु भएको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिलाको शव बुधबार दिउँसो फेला परेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =