चीनले लगानी गरेको विद्युत भारतले किन्दैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा भारतले असहमति प्रकट गरेको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेलामा भएको नेपाल—भारत १० वर्षमा १० हजार मेगावाट विद्युत सम्झौतामा भारतले चीन सरकारले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा असहमति जनाएको बताए ।

उनले आफूहरूले ग्लोबल टेण्डर आह्वान गरी निर्माण भएको विद्युतलाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने कुरा राखेको र त्यसको लागि अझै छलफल हुने स्पष्ट पारे ।

उनले यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको बताए । भारतले नेपालमा आफूले बनाएका कम्पनीबाट उत्पादित विद्युत मात्रै लैजाने भन्नेकुरा सत्य नरहेको जिकिर गरे ।

उनले भने ‘मैले भारत भ्रमणका क्रममा भएको सम्झौताअनुसार नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको विद्युत भारतमा निर्यात गर्ने भन्ने सहमति भएको थियो । त्यो सहमतिलाई कार्यरुप दिन, कार्यान्वयनमा लैजान एकातिर त भारत सरकारको मन्त्रीपरिषद्बाट त्यसलाई अनुमोदन हुनुपर्दथ्यो । अर्को फेरि औपचारिक ढंगले दुवै देशको सरकारका प्रतिनिधि हरूको हस्ताक्षर हुनुपर्दथ्यो । मेरो भ्रमणका क्रममा भएका त्यो सहमतिलाई केही समयपछि केही हप्तापछि भारत सरकारको मन्त्रीपरिषद्बाट त्यसलाई अनुमोदन गरियो, अहिले भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा रहेको बेलामा दुवै देशका सरकारका प्रतिनिधिहरूले हस्ताक्षर गरेर अन्तिम रूप दिइयो । यसले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको छ । यहाँ प्रश्न उठ्ने गरेको छ, यहाँ भारतले बनाएका परियोजनाको मात्रै विद्युत लैजाने भनेको हो की भन्ने छ, यसमा क्लियर हुन जरुरी छ । त्यस्तो कुनै सहमति सम्झौता नेपालले गरेको छैन । नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत विकास गर्ने स्वतन्त्रता सबैलाई छ । हामीले जताबाट उत्पादन भएको भएपनि १० हजार मेगावाट १० वर्षमा भन्ने छ । भारत सरकारको कन्सर्न चीन सरकारले प्रत्यक्ष लगानी गरेका आयोजनाको लिनेमा उहाँहरूको रिजर्भेसन छ । यसबारेमा पनि संवाद गर्दैछौँ ।’

प्रधानमन्त्री दाहालले नेपालले बनाएको नानो स्याटेलाइट भारतीय न्यु स्पेस इन्डिया लिमिटेडले आफ्नै खर्चमा प्रक्षेपण गरिदिने सम्झौता भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =