अब सार्वजनिकस्थलमा कुकुर/बिरालोलाई शौच गराए कारबाही

काठमाडौं । काठमाडौंमा अब सार्वजनिक ठाउँमा कुकुर डोर्‍याउँदै ल्याएर शौच गराउनेलाई कारबाही हुने भएको छ । महानगरपालिकाले घरमा पालेका कुकुर/बिरालोलाई बिहान होस् अथवा साँझ, सार्वजनिक स्थानमा सडकमा शौच गराउनेविरुद्ध कारबाही सुरु गरेको हो ।

पाँच वर्षअघि पनि महानगरपालिकाले यसरी सार्वजनिक स्थलमा कुकुरलाई शौच गराए कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । तर, महानगरपालिका कारबाहीमै भने उत्रिएको थिएन । यसपालि भने सोमबारबाटै महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको छ । पहिलो दिनमा ५ कुकुरधनीलाई कारबाही गरेको महानगरले जनाएको छ ।

महानगरपालिका कुकुर/बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउन थालेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए । महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरूको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको हो । जसअनुसार ५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

कार्यविधिले घरपालुवा कुकुर बिरालालाई दर्ता गराउनु पर्ने, तिनीहरूको रेखदेख, हेरचाह, नियमित खोप, औषधि उपचारको व्यवस्था गर्ने दायित्व जसले पालेको छ, उसैले गर्नुपर्ने प्रबन्ध गरेको छ । महानगरपालिकाले सामुदायिक कुकुर र बिरालाहरूको बन्ध्याकरण, खोप र अभिलेखन कार्यक्रम चलाउँदाका प्रक्रिया, शुल्क, दायित्वजस्ता विधिको व्यवस्था गरेको छ ।

कार्यविधिले महानगरपालिका क्षेत्रभित्रका मठ मन्दिर, पार्क तथा निषेधित क्षेत्रमा कुकुर र बिरालोलाई छाडा रूपमा छोड्न रोक लगाएको छ । घरपालुवा कुकुर बिरालालाई शौच गराउने व्यवस्था पाल्ने व्यक्ति आफैँले गर्नु पर्नेछ । कार्यविधिका विषयमा जानकारी दिँदै कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले भने, ‘जथाभाबी सार्वजनिक ठाउँ, अर्काको घर आँगनमा वा निषेधित स्थलमा दिशा पिसाब गराएर फोहोरमैला बनाउने वा पालेको कुकुर बिरालो छाडा छोडेका पाइएमा सम्बन्धित धनीलाई महानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।’

सहरी सुन्दरता र व्यवस्थापनका लागि महानगर प्रहरी बलले प्रचलित कानुन कार्यान्वयनमा सक्रियता बढाएको वरिष्ठ उपरीक्षक पाण्डेले बताए । सोमबार अनामनगर आसपासमा कुकुर जफत गर्दै गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *