सांस्कृतिक पर्यटनमा ‘मेन्यु’

सांस्कृतिक विविधताले सम्पन्न देशको रुपमा परिचित छ नेपाल । यहाँ बहुजाती, बहुधर्म, बहुभाषीका आ–आफ्नो भेषभुषा, भाषा, रहनसहन र जीवनशैली छ । नेपालमा संस्कृति पर्यटनको सम्भावना अथाह रहेको छ । नेपालको पर्यटनको मुख्य तीन आधार प्राकृतिक पर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनलाई मान्ने गरिन्छ ।

प्राकृतिक पर्यटनले अहिलेसम्म नेपालको पर्यटन बजार धानेको छ । हामीसँग भएका संस्कृतिलाई पर्यटनको माध्यम बनाउने हो भने यसबाट प्रतिफल लिन सहज हुनेछ ।

पर्यटन एउटा यस्तो विषय हो । जसले आफूसंगै अन्य क्षेत्रलाई पनि अंगाल्ने गर्दछ । पर्यटनले देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने गर्दछ । कुनै पनि स्थानको पर्यटन विकास हुनु नहुनुमा त्यस स्थानको सामाजिक र सांस्कृतिक परिवेशले पनि असर गर्दछ । मानिस प्रत्येक पटक नयाँ र नौलो चिजबिजको अनुभव गर्न चाहन्छन् । विशेष गरी नेपाल भित्रने विदेशी पर्यटकहरू पनि नेपालको सामाजिक र सांस्कृतिक परिवेशबाट अभिप्रेरित भएका हुन्छन् ।

उनीहरु अन्य देशको संस्कृति र समाजमा रहेका परम्परा, भेषभुषा, रीतिरिवाज, रहनसहन जान्न बुझ्न अन्य मुलुकमा पर्यटक भएर जाने गर्दछन् । पर्यटनको सामाजिक तथा सांस्कृतिक पक्षहरू भनेको कुनै पनि देशको समाजको धार्मिक, सांस्कृतिक, परम्पराका रुपमा चल्दै आएको विद्यमान अवस्था माथिको प्रभाव हो । जुन त्यस समाजको धर्म, संस्कृति, परम्परा, जातजाति र भौगोलिक कारणले स्थापित भएको हुन्छ । जब समाजमा पर्यटकीय गतिबिधीहरुको सुरुवात हुन्छ त्यहाँ समाजभन्दा बाहिरका धर्म, संस्कृति र परम्परा भएका मानिसहरूको प्रवेश सुरु हुन्छ ।

मानव सभ्यता गाँसीएको संस्कृति शब्दको व्याख्या र त्यसमाथि देखा परेको प्रभावको उल्लेख गर्नु सरल विषय होइन । संस्कृति मानवले आर्जन गरेका ती सबै कुरा हुन् जुन उसले आफ्नो वंश परम्परा र सामाजिक परम्पराबाट आर्जन गरिरहेको हुन्छ जसलाई धर्म र भौगोलिक स्थितिले पनि प्रभावित गरिरहेको हुन्छ । प्राचीन कालदेखि अहिलेसम्म आइपुग्दा संस्कृतिमा थुप्रै भिन्नताहरू देखा परिसकेका छन् । स्थान विशेष, जाति, धर्म आदिका कारण पृथ्वीको एक कुनाको मानिसको संस्कृति अर्को कुनाका मानिसको संस्कृति बिल्कुलै भिन्न पनि हुन सक्छ । तर, हरेक मानिसको पहिचान र गौरवको विषय उसको संस्कृति बन्न पुगेको हुन्छ । जसका कारण मानिस परिचित हुन्छ र आफ्नो भन्ने भावनाले मानिसले परम्परा वा संस्कृतिलाई अनुसरण गर्दै त्यसलाई संरक्षण गर्दछ । जुन अरूका लागि उदाहरणीय पनि हुन सक्दछ ।

सामाजिक तथा सांस्कृतिक पक्ष भनेको कुनै पनि देशको समाजको धार्मिक, सांस्कृतिक, परम्पराका रुपमा चल्दै आएको विद्यमान अवस्था माथिको प्रभाव हो । जुन त्यस समाजको धर्म, संस्कृति, परम्परा, जातजाति र भौगोलिक कारणले स्थापित भएको हुन्छ ।

दैनिक जीवनका चालचलन, रहनसहन, भेषभुषा र जीवनशैली नै हाम्रो संस्कृति हो । पुस्तान्तरका हुँदै आएको छ संस्कृति । यही संस्कृति नै देशबाहिरका पर्यटकहरूका लागि नौलो र खास लाग्न सक्छ । सामान्यतया मानिसहरु एक स्थानबाट अर्को स्थानतर्फ जाँदा त्यहाँका वस्तुस्थिति तथा जीवनशैलीको अध्ययन र अवलोकन गर्न रुचि राख्दछन् । यही रुचिलाई पर्यटनको माध्यम बनाउन सकिन्छ । पछिल्लो समय पर्यटनप्रतिको सचेतना निकै बढेको छ । अहिले देशमा विभिन्न जातीहरूले आ–आफ्नो चाडपर्वलाई सामूहिक उत्सवको रुपमा मनाउन थालेका छन् । ती उत्सवमा ठूला–ठूला अक्षरले सांस्कृतिक पर्यटन भनेर लेख्ने गरिन्छ । हाम्रो संस्कृति पर्यटनको अंश हो भन्ने ज्ञान हामीमा आएको छ । यो सुन्दर पक्ष हो ।

वास्तविक पर्यटनको अर्थ त्यति बेला पूरा हुन्छ जति बेला यसबाट हामीले पर्यटनलाई माध्यम बनाएर आर्थिक उपार्जनसँग जोड्ने गर्दछौं । आफ्नो संस्कृतिलाई जति फैलन दियो उति नै यसको महत्त्व बढ्दै जान्छ । सांस्कृतिक उत्सवले हामीमा भाइचारा बढाउँछ । हाम्रो संस्कृतिलाई जीवित राख्न मद्दत गर्दछ ।

भूगोल र रहनसहनका आधारमा हिमाल, पहाड र तराई गरेर तीन भागमा विभाजन गरिएको छ नेपाललाई । यी क्षेत्रहरूको भूगोल, हावापानी, रहनसहन र संस्कृति बेग्लै छ । नेपालीहरूले वर्षभरि नै आ–आफ्ना परम्पराअनुसार चाडपर्व मनाउँदै आएका छन् । यी चिजको ‘डाटा’ सङ्कलन गरी नेपालमा मनाइने विशेष चाडपर्व तथा उत्सवलाई ‘क्यालेण्डर’ बनाइ एकीकृत रुपमा बजारीकरण गरेर प्रचार गर्ने हो भने इतिहास र संस्कृतिमा चासो राख्ने पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । संस्कृति विधामा ‘रिसर्च’ गर्ने विद्यार्थीहरूलाई पनि यस देशमा अध्ययनका लागि आकर्षित गर्न सकिन्छ ।

रेष्टुरेष्टमा खाना बिक्री गर्न ‘मेन्यु’को आवश्यकता पर्दछ । यस्तै हामीले हाम्रो संस्कृतिलाई पर्यटनमा जोड्ने हो भने संस्कृतिको ‘मेन्यु’ बनाउन आवश्यक छ । देशमा घुम्नका लागि योजना बनाउने पर्यटकहरूले ‘मेन्यु’ अर्थात् ‘क्यालेण्डर’ हेरी घुमाइको क्रममा इच्छाअनुसारको उत्सवमा सहभागी भएर अध्ययन, अवलोकनका साथै मनोरञ्जन गर्न सक्दछन् । यसले हाम्रो संस्कृति जीवन्त राख्न मद्दत पुग्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *