कोषको आपत्ति

पशुपतिनाथ मन्दिर कसैको बिर्ता हो ?

काठमाडौं । हरेक साँझ पशुपतिनाथ मन्दिरमा आरती हुन्छ ।

पशुपति मन्दिर भित्रको आरती सकिएपछि बागमती नदी किनारको आरती सुरु हुन्छ ।

यो आरती सामान्यतः बेलुकी ७ बजे सुरु हुन्छ । एक घन्टासम्म चल्ने आरती हेर्न हजारौं मानिसको भीड लाग्छ ।

आरतीमा पुजारी र सांगीतिक टोलीको कलात्मक प्रस्तुति र भजन सुन्न पाइन्छ । यहाँ भगवान् शिव र पशुपतिको मात्र नभएर बागमती गंगा र सम्पूर्ण देवीदेवताको पूजा गरिन्छ ।

भारतको बनारसमा हुने गंगा किनार आरतीबाट प्रभावित भएर यो आरती नेपाल भित्र्याइएको हो । २०६४ साउन २१ गते आधिकारिक रूपमा ’श्री पशुपति एवं बागमती गंगा आरती सेवा समिति’ स्थापना गरियो । त्यही दिनदेखि यहाँ दैनिक रूपमा आरती हुँदै आएको छ । आरती हेर्न र सुन्न आउनेहरूले भिडिओ र फोटो खिच्दै आएका छन् ।

पशुपति क्षेत्रमा आउने भक्तजन र पर्यटकहरूले सम्झना स्वरूप फोटो भिडियो खिच्ने र फेसबुक, इनष्टाग्राम, टिकटक तथा युटुवमा पोष्ट गर्ने गर्दछन् ।

तर, बुढासुब्बा डिजिटलको तर्फबाट बिहीबार एउटा सूचना जारी भयो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनिएको छ । पशुपति क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपी राइट ऐन अन्तर्गत कारबाही हुने भनिएको छ ।

बुढा सुब्बाले पशुपति विकास कोषबाट पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि लिएपछि यो सूचना जारी गरेको हो । सूचना सार्वजनिक पछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । कतिपयले ‘पशुपतिको दर्शन गर्न मनाई छ, गरे कारबाही हुन्छ भने भो नि’! भन्दै विरोध गरिरहेका छन् ।

कतिपयले किन र केका लागि भिडियो खिच्न नपाउने भन्दै प्रश्न गरिरहेका छन् । के अव सर्वसाधारणले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाउने हो ? पशुपतिनाथ मन्दिर सरकारको बिर्ता हो ? भन्दै प्रश्न उठ्न थालेको छ ।

चौतर्फी विरोधभएपछि बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले सर्वसाधारणका लागि भिडियो तथा फोटो खिच्न रोक नलगाएको बताएका छन् । सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न पाउने तर व्यावसायिक प्रयोजनका लागि नपाउने उनको भनाई छ ।

पशुपति विकास कोषसँग ५ वर्षका लागि टेन्डर मार्फत भिडियो र फोटोको राइट आफूले लिएको गिरीले खुलाए । भिडियो तथा फोटो अन्यले पनि व्यावसायिक प्रयोजन गरिरहेको देखिएकोले आफूले सूचना निकालेको गिरीको भनाई छ ।

कोषको आपत्ति

यता, पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रवार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् ।

पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपि राइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ, भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएकोप्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बुढासुब्बा डिजिटल प्रालिले बिहीबार एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *