यू–१९ विश्वकप खेल्ने नेपाली टोलीको विदाइ

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ ।
नेपाली क्रिकेट टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान) ले विदाइ गरेको हो । आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन् ।
दक्षिण अफ्रिकामा नेपालले एक साता प्रशिक्षण गर्नेछ । एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ ।
यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह ’डी’ मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ ।
त्यसअघि नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ ।
नेपालले सन् २०१६ पछि यू–१९ विश्वकप खेल्न लागेको हो । ८ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा नेपालले छनोटमा युएईलाई स्तब्ध पारेको थियो ।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द








