अधिकार नपाएर प्रदेशले आफ्नो पर्फमेन्स् अगाडी बढाउन सकेको छैन् : मन्त्री भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संघीयताले पूर्णता नपाएका कारण प्रश्न उठिरहेको बताएका छन् ।

सोमवार मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले संघीयताले पूर्णता नपाएका कारण यसप्रति प्रश्न उठेको बताएका हुन् ।

उनले प्रदेशले अधिकार नपाउँदा प्रदेशको औचित्यतामाथि नै पनि प्रश्न उठेको बताए । अधिकार नपाउँदा प्रदेशहरूले काम गर्न समेत नसकेको उनको भनाई छ । उनले संविधानलाई पूर्णता दिँदै यसको सफल कार्यान्वयन गर्नमा जोड दिनुपर्ने बताए ।

उनले भने ‘बारम्बार म सुन्छु यो संविधानको रक्षाको दायित्वको कुरा उठेको छ । रक्षा होइन । यो संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । यो संविधानको सफलतापूर्वक कार्यान्वयन गरेको अवस्थामा अनि यो मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता र यो संविधानले लक्षित गरेका कुराहरू हामी हासिल गर्नसक्छौँ । अनि जनताको पक्षमा हामी काम गर्न सक्छौँ । आजको दिन हामीले प्रतिबद्धता व्यक्त गर्नुपर्ने के छ भने, विभिन्न किसिमको बलिदानबाट उपलब्धि भएको यो संविधानलाई पूर्णता प्रदान गर्दै, यो संविधानमा केही कुराहरू अधुरा छन् । केही कुराहरू पूरा छन् । यो संविधानलाई पूर्णता प्रदान गर्दै संविधानको सफल कार्यान्वयनलाई अगाडी बढाउने कुरामा हामीले जोड दिनुपर्दछ । सङ्घीयतामाथि किन प्रश्न उठिरहेको छ ? प्रदेशको औचित्यतामाथि प्रश्न किन उठिराखेको छ ? किनभने संघीयताले पूर्णता पाएको छैन । प्रदेशले आफूले पाउने अधिकार पाइराखेको छैन । उनीहरुले गर्नुपर्ने पर्फमेन्स् अगाडी बढाउन सक्ने अवस्था भइराखेको छैन । त्यसो हुनाले मलाई के लाग्छ भने आजको दिनमा हामी सबैले यो कुरालाई महसुस गरेर, यो संविधानलाई पूर्णता दिएर ती कुराहरूलाई हामीले अगाडी बढाउनुपर्ने आवश्यकता छ ।’

उनले युवाहरूको विदेश पलायन रोक्न नेपालमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा केही हुँदैन भन्ने भाष्यको अन्त्य गर्दै केही हुन्छ भन्ने भाष्य बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =