प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोलको राजीनामा तामेलीमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरिबोल गजुरेलको राजीनामा स्वीकृत नगरी तामेलीमा राखेको छ ।
गत मंसिर २० गते गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए ।
‘प्रधानमन्त्रीले आफ्नो कुरा नसुनेको र सरसल्लाह पनि नभएको’ भन्दै उनले राजीनामा दिएका थिए ।
‘प्रधानमन्त्रीज्यूले राजीनामा स्वीकृत गर्नुभएको जानकारी मैले पाएको छैन,’ गजुरेलले भने, ‘म मंसिर २० गतेदेखि प्रधानमन्त्री कार्यालय गएको पनि छैन ।’
उनले फर्कने मनशायले राजीनामा नदिएको बताउँदै स्वीकृत हुने विश्वास व्यक्त गरे ।
पुस ४ गते बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले गजुरेलको राजीनामाको प्रसंग उठाएका थिए । पार्टीको चार महिने अभियान, सरकारको कामको समीक्षाको सन्दर्भमा बोल्दै उनले आफ्नो राजीनामाबारे पनि जानकारी गराएको गजुरेलले बताए ।
‘बैठकमा उहाँले बोल्नेक्रममा मेरो राजीनामाको विषय पनि राख्नुभयो । मैले मेरो पालामा पनि राजीनामा दिएको कुरा राख्न खोजेको थिएँ । अध्यक्षज्यूले यसबारे हामी छुट्टै छलफल गरौंला भन्नुभयो । तर, आजसम्म बोलाउनुभएको छैन,’ उनले भने ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि गजुरेलको राजीनामा स्वीकृत नभएको बताए । स्वीकृत नगरिनुको कारण प्रधानमन्त्री प्रचण्ड स्वयंलाई थाहा भएको उनको भनाइ छ ।
माओवादी केन्द्रमा उपमहासचिव रहेका गजुरेल माघ ९ गते प्रधानमन्त्री प्रचण्डको प्रमुख सल्लाहकार नियुक्त भएका थिए ।








