निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको छ : सभापति यादव

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजना बिना विमानस्थलमा अर्बौँको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन् । उनले बिना योजना विमानस्थलमा अर्बौँ लगानी गराउनेहरू विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे ।
सभापति यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए । उनले कुनैपनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गर्न नहुने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताए ।
उनले पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरू समितिले मगाएको भन्दै फाइलहरूको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने बताए । उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताए ।
उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताए । उनले विकास विरोधी र मधेस विरोधी चिन्तन भएकाहरू काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस भइरहेको बताए ।
उनले भने ‘उड्डयन भनेको नेपालको लागि नेपाललाई आर्थिक रुपमा समृद्ध, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्न हो भने यो क्षेत्रमा विकास गर्न सकियो भने नेपालको जिडिपीमा सबै भन्दा ठूलो योगदान पुग्नसक्छ भने रोजगारीको क्षेत्रमा पनि ठूलो भुमिका खेल्नसक्छ । यसको सुधारको लागि हामी सबैले के ग¥यौ भन्ने विषयमा आफैँले आफैँलाई मूल्याङ्कन गर्न जरुरी छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्दा निजगढ विमानस्थलसँग जोडिदिने काम भइरहेको छ । जुन एउटा विकास विरोधी र अर्को मधेस विरोधी चिन्तन रुपमा काठमाडौंको पाँचतारे होटलमा बसेर बहस गर्ने काम भएको छ । पोखरा विमानस्थल बनाउँदा दीर्घकालीन योजना थियो की थिएन । आज किन विमानस्थल चलेन भनेर उनीहरूलाई सोध्नुपर्ने हो । आज चलने भनेर उम्कन पाउँछ । ती सबै जना दोषीको भागिदार हुनुपर्छ । नत्र कारबाही गर्नुपर्छ । कुनैपनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेस बिना गरिँदैन । थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन यति ठूलो परियोजना त हचुवाको भरमा बनाउने कुरै हुन्न,यसको पछाडि क–कसको स्वार्थ छ, समितिले अध्ययन गर्दैछ । पोखरा विमानस्थलको सम्पूर्ण फाइलहरू समितिले मगाएको छ, यथार्थ छानबिन हुन्छ र दोषीलाई कारबाही हुन्छ ।’
उनले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिनसक्ने बताए । उनले नेपाललाई आर्थिक रुपमा समृद्ध, अन्तर्राष्ट्रिय रुपमा सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्नको लागि हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको बताए । उनले नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचीबाट हट्न नसकेको प्रति दुःख व्यक्त गरे ।








