प्रेमीसंग भाग्दै थिइन रेखा, पतिले देखेपछि तोरी बारीमा गुमाइन ज्यान

काठमाडौं । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका–७ ताकम घर भएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् । उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटीमा तुनाले कसेर हत्या गरेको आरोप छ ।

एसपी थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। उनीहरूका दुई जना बच्चा पनि छन् ।

पछिल्लो समय श्रीमान–श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ ।

यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो ।

अर्कै पुरूषसँग प्रेममा रहेकी रेखा बिहीबार दिउँसो भने प्रेमीसँग भाग्न लागेकी थिइन् ।

‘हिजो महिला आफ्ना प्रेमीसँग भाग्न लागेकी थिइन् । भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले देखेछन्,’ एसपी थापाले भने ।

त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए ।

लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ ।

रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए । उनका प्रेमी भने भाग्न सफल भएका थिए ।

‘हत्या हुँदा धेरै बेर पनि लागेनछ । घटनाका प्रत्यक्षदर्शीहरू पनि धेरै छन्,’ एसपी थापाले भने, ‘प्रेमीलाई भेटाउन पाएनन् । घटना छोटो समयमा नै भएकाले स्थानीयले पनि बचाउन सकेनन् ।’

यस्तै, घटना भएको केहीबेरमा प्रहरीलाई खबर भएको थियो । इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरीको टोली खटिएको थियो ।

उक्त टोलीले घटनास्थल नजिकैबाट रत्नबहादुरलाई पक्राउ गरेको थियो । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =