पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात ३ दिनभित्र पेस गर्न निर्देशन

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरू ३ दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरू ३ दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।

केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो । सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरूले प्रश्न उठाएसँगै समितिले नियुक्ति सम्बन्धी प्रमाणित कागजात मगाएको हो ।

बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यसैगरी बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र यकिन गरी हाल साबिक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ । समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति राजकिशोर यादवले भने ‘आजको बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित काम, कारबाहीहरू तथा समसामयिक विषयहरूको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसँग छलफल भई देहाय बमोजिमका निर्णयहरू भयो ः

१. पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरू, निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तिन दिनभित्र यस समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने निर्णय गरियो ।

२. पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र यकिन गरी हाल साबिक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न निर्देशन दिने निर्णय गरियो ।

३. पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कल सहितको विवरण ३ दिनभित्र उपलब्ध गराइदिनका लागि निर्देशन दिने निर्णय गरियो ।

४. पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यहाँ उपलब्ध गराउनका लागि निर्देशन दिने निर्णय गरियो ।

५. पशुपतिमा बिग्रिएको शवदाह गृह यथाशीघ्र सञ्चालनमा आउनेगरी तयार र आवश्यकताअनुसार थप गर्न सकिन्छ कि भन्ने सोच्न सक्नेगरी अगाडी बढ्न निर्देशन दिने निर्णय गरियो ।

६. पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी लिने ।’

त्यसैगरी, बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिलाई उपलब्ध गराउन पनि भनेको छ । समितिले पशुपतिमा बिग्रिएको शवदाह मेसिन यथाशीघ्र सञ्चालनमा आउनेगरी तयार गर्न र आवश्यकताअनुसार थप गर्नेगरी अगाडी बढ्न पनि निर्देशन दिएको छ ।

बैठकले पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *