प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफ प्लेअफमा

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपिएफ बुधवार पाँचौँ जित निकाल्दै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा कर्णाली प्रदेशमाथि ९२ रनको रबाफिलो जित निकाल्दै एपिएफ दुई खेल अगावै प्लअ‍ेफमा पुगेको हो ।

ओपनरद्वय राजमति ऐरी र ममता चौधरीको शतकीय साझेदारीमा एपिएफले कर्णालीलाई सहजै हरायो । समान पाँच खेलमा एपिएफ अपराजित छ भने कर्णाली जितविहीन टोली हो । राजमति र ममताले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेका थिए । सोही प्रेरणामा एपिएफले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै कर्णालीसामु १६१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्यो ।

ममता ६२ रनमा रनआउट भइन् । उनी १५।६ ओभरमा पहिलो विकेटको रूपमा पवेलियन फर्किइन् । उनको इनिङमा आठ चौका रह्यो । त्यसपछि राजमतिले इनिङ समाल्दै ६७ रनको योगदान दिइन् । अन्तिम ओभरको चौथो बलमा त्रिसना विश्वकर्माद्वारा बोल्ड हुनुअघि राजमतिले ५५ बलमा ९ चौका र दुई छक्का प्रहार गरिन् । रोमा थापाले ९ बलमा १३ रन जोड्दै राजमतिलाई साथ दिइन् ।

जवाफी ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभर नै खेले पनि आठ विकेटको क्षतिमा ६८ रन मात्र जोड्दै एपिएफलाई नतिजा सुम्पियो ।

ओपनर तथा कप्तान किरण कुँवर १ रनमै पवेलियन फर्किइन् । अर्की ओपर त्रिसनाको १९ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । शीर्ष क्रमका ब्याटर सहजै पवेलियन फर्किँदा गौरी बोहोराले १२ रन र रश्मि खड्काले १० रनको योगदान दिए पनि कर्णालीलाई पाँचौँ हार सामना गर्नबाट रोक्न सकेनन् ।

एपिएफका बलर करुणा भण्डारीले चार ओभरमा एक मेडन राख्दै मात्र १३ रन खर्चँदै चार विकेट लिइन् । सुमन विष्टले दुई तथा विनु मगर र सीता रानामगरले समान एक विकेट लिँदै कर्णालीको इनिङ धराशायी बनाए ।

बुधवार नै कोशी र सुदूरपश्चिम प्रदेशले आआफ्ना खेलमा सफलता निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँदा बागमतीको सम्भावना पनि जीवन्त छ । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशमाथि ५५ रनको जित निकाल्दै कोशी प्रदेशले चौथो जित निकाल्यो । कोशीले एक मात्र एपिएफसँग सामना गरेको थियो ।

कोशीले बिहीबार अर्को बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ । त्यो खेलले नै कोशीको प्लेअफ यात्रासँगै शीर्ष दुईको दाबेदारी प्रस्तुत गर्नेछ । समान पाँच खेलबाट कोशी र सुदूरपश्चिमको समान आठ अङ्क छ ।

सुदूरपश्चिमले पनि एक मात्र हार एपिएफसँग नै व्यहोरेको हो । बुधवार पराजय व्यहोरेको गण्डकी समान खेलबाट दुई अंकका साथ छैटौँ स्थानमा छ । कोशीले प्रश्ततु गरेको एक सय चार रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमै समेटियो । गण्डकीकी सुमन खतिवडाले २१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले तीन, संगीता राई र एलिशा खडियाले समान दुई तथा अप्सरी बेगमले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ३ रनको योगफल बनाएको थियो ।

निकै खराब सुरुवात गरेको कोशीका शीर्ष तीन ब्याटर कप्तान रुविना ४ रन, काजल श्रेष्ठ ६ रन र अप्सरी बेगम १ रनमै पवेलियन फर्किए । तर, त्यसपछिका ब्याटर विमला मलाहाले २५, संगीता राईले अविजित २३ र लकिता राजवंशीले २२ रन जोड्दै कोशीलाई सामान्य योगफलतर्फ अग्रसर गराए ।

गण्डकीका कुशुम गोदार र श्रृष्टि जैसीले समान दुई तथा रचना चौधरी, सुमन खतिवडा र आकृति तिवारीले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =