क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आफु क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विधार्थी हुने सोचमा रहेको बताएका छन् ।

व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया आएको मौका पारेर एनआरएनए (एनएसडब्लु) राज्य समिति र असल्यान्डले संयुक्त रुपमा शनिबार आफ्नो लागि राखिएको सम्मान कार्यक्रममा कुशलले यस्तो भनेका हुन् ।

सिड्नीमा आयोजना गरिएको कार्यक्रममा कुशललाई नगद सहित सम्मान गरिएको हो । खेलाडी पलायनको विषयमा सोधिएको प्रश्नमा कुशलले भने , ‘अब क्रिकेट खेलेर जीवनयापन गर्न सक्ने दिन आइसकेको छ । हिजोको दिनमा अष्ट्रेलिया आउने मेरो सोच पनि थियो । तर अहिले क्रिकेटले जीवनमा फरक मोडमा ल्याइदिएको छ ।’

कुशललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान र स्वागत गर्न पाउनु गर्वको विषय भएको बताए ।

यसअघि अभिनाष बोहोरालाई पनि सम्मान गरिसकेको एनआरएनए एनएलडब्लुले खेलाडीलाई धेर थोर सहयोग पनि होस् भनेर आफूहरूले सम्मान गर्ने गरेको स्मरण गर्दै कुँवरले सिड्नी आउने हरेक राष्ट्रिय खेलाडीलाई जहिले पनि सम्मान गर्ने घोषणासमेत गरे ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा क्रिकेट रंगशाला निर्माण गरिरेको एक्ट्राटेक ओभलका निर्देशक कुँवरले फागुन भित्रमा मैदानमा खेल्न मिल्ने गरि निर्माण कार्यअघि बढिरहेको बताए । उनले आफू नेपाल र नेपाली क्रिकेटमा अत्यन्त नजिक रहेको भन्दै विश्वकपमा नेपाली खेलाडीको हौसलाका लागि अमेरिकासमेत जाने योजना रहेको सुनाए ।

कुँवरले कुनै पनि राष्ट्रिय खेलाडीलाई जीवन चलाउनका लागि देश छोड्नु नपरोस् भनेर आफूले त्यसका लागि सकेको सहयोग गर्ने वाचासमेत गरे । ’खेलाडीले गरेको मेहनत र कामलाई सधै साथ र सहयोग गर्नेछु, उनले थपे, ‘आर्थिक अभावमा अब कुनै पनि नेपाली खेलाडीले विदेशीनु नपरोस् भनेर म लागि परेको छु ।’

अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्न कुशल अस्ट्रेलिया आएका हुन् । करिब २ महिना अस्ट्रेलिया बसाईमा उनले अनुभव बटुल्नुका साथै क्लबबाट खेल्दा आफ्नो खेल कौशल अझ बलियो हुने आशा राखे । उनले जनवरीको अन्त्यसम्म क्लबबाट खेल्नेछन् । त्यसपछि उनी राष्ट्रिय टोलीको तयारीमा जुट्न स्वदेश फर्कनेछन् ।

फ्रान्कस्टोन अस्ट्रेलियाको भिक्टोरिया राज्यको शीर्ष क्लब मध्ये एक हो । क्लबले भिक्टोरियाको शीर्ष प्रतियोगिता खेलिरहेको छ । यही क्लबबाट अस्ट्रेलियाका टेस्ट क्रिकेटर स्कट बोलान्डको ’होम क्लब’ हो । क्लबमा रहदा कुशलले एकदिवसीय र टी–२० खेलमा सहभागिता जनाउनेछन् । क्लबले भिक्टोरिया प्रिमियर क्रिकेटअन्तर्गतका विभिन्न राज्यस्तरीय प्रतियोगिता खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =