सौराहामा सांस्कृतिक पर्यटक बढ्दै, थारु गाउँ सबैको रोजाईमा

काठमाडौं । पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिएको छ । सौराहा जाने आन्तरिक तथा वाह्य पर्यटकहरु सौराहा थारु भिलेजमा गएर मात्रै फर्किने गर्दछन् ।

एक पटक उनीहरु थारु भिलेजमा पुगेर थारुहरुको संस्कृति र संस्कारमा रम्ने र रमाउने गर्दछन् । सौराहा थारु भिलेज विदेशी र आन्तरिक पर्यटकहरुका लागि रोजाइमा पर्दै गएको छ ।

सौराहा थारु भिलेज पर्यटकहरुका लागि थारु गाउँको पर्याय झैँ बनेको छ भन्दा फरक नपर्ला । किनभने सौराहा जाँदा जसरी जंगल सफारी गर्न पर्यटकहरु लालयित हुन्थे त्यसैगरी पछिल्लो समय सौराहा पुगेका पर्यटकहरु थारु कला र संस्कृति हेर्नका लागि एक दिन भएपनि थारु भिलेजमा पुगेर नरमाइकन फर्किन सक्दैनन् ।

चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिँदै गएका छन् । समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रश्तुत गर्दै पर्यटकहरुलाई आकर्षित र रोमाञ्चित बनाउनछन् ।

नेपालकै मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहामा कतिपय पर्यटकहरु त थारु संस्कृति र कला हेर्न पटकपटक जाने गरेका छन् । दोस्रो पटक थारु संस्कार र संस्कृति हेर्न पुग्नुभएका लक्ष्मी निरौलाले संस्कृतिसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले राम्रो प्रगति गरेको बताए ।

उनले थारु गाउँको संस्कृति, संस्कार र सांस्कृतिक पर्यटकको सम्भवाना चितवनस्थित सौराहा थारु भिलेजले देखाएको बताए ।

यसले सांस्कृतिक पर्यटनलाई जोगाउन महत्वपूर्ण योगदान गर्ने उनको ठम्याइ छ । चितवनमा जति धेरै थारु संस्कृतिलाई विकास गर्न सकिन्छ त्यति नै पर्यटकको सम्भावना बढ्ने बताए ।

चितवलाई जंगल सफारीकासाथै संस्कृतिको रुपमा पनि चिनाउनसके पर्यटकहरु अझै बढ्नसक्ने बताए ।

उनले भने– ‘नेपाल प्रशस्त पर्यटकीय सम्भावना भएको देश हो । यहाँको तराईदेखि पहाड र हिसालसम्मका विभिन्न परम्परा र रितिरिवाजहरुले हामीलाई धानेको छ । कल्चरसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले एउटा ठूलो फड्को मार्नेछ । खासगरी थारु गाउँको संस्कृति छ, उहाँहरुले प्रशस्त सम्भवानासहित संस्कार र संस्कृति जोगाउने जमर्को गर्नुभएको छ, यसले सांस्कृतिक पर्यटनलाई जोगाउन महत्वपूर्ण योगदान गर्नेछ । कुनैपनि जातजाति सम्प्रदायको आफ्नो संस्कृति, परम्परा हुन्छ, अरुसँग मिल्दैन, तर थारु कल्चर समृद्ध छ तर लोप हुने अवस्थामा पुगेको थियो । चितवनले थारु कल्चर जति प्रमोट गर्छ, यसको सम्भावना त्यत्तिकै बढ्दै जान्छ । चितवन जंगल सफारी गर्न जो पर्यटक जान्छन् उनीहरुलाई हाम्रो कल्चरसँग मिलाउन र चिनाउनसके राम्रो हुन्छ ।’

त्यस्तै ललितपुरबाट आफ्ना विद्यार्थीहरुलाई लिएर चितवन पुग्नुभएका दिनेश रावल विद्यार्थी र बालबालिकाहरु अनलाइन केन्द्रित हुँदै गइरहेको बेलामा बाहिरि संस्कार र संस्कृति बुझाउन यस्त गन्तव्यहरु महत्वपूर्ण हुने बताउँछन् ।

उनले यस्ता क्षेत्रहरु मनोरञ्जनका साथसाथै अध्ययनका लागि पनि काम लाग्ने बताए ।

उनले थारु समुदायझै अन्य समुदायहरुले पनि लोप हुन लागेका आफ्ना संस्कार र संस्कृतिहरुको जगेर्ना गर्न आवश्यक रहेको बताए ।

उनले भने– ‘अहिलेका बालबालिकाहरु अनलाइन कुराहरुमा मात्रै केन्द्रित हुन्छन् । अनलाइन विषयवस्तुमा ात्रै फोकस नभइ यस्ता बाहिरि कुरामा संस्कार र संस्कृति बचाउनुपर्छ, संरक्षणमा लाग्नुपर्छ भनेर बुझाउनु आवश्यक छ । यहाँ एकदमै राम्रो लाग्यो, आफ्नो संस्कृति बचाएर राख्नुपर्छ, विद्यार्थीहरुको लागि राम्रो हुनेछ । विदेशमा पनि आफ्नो, कला, संस्कृति जोगाउन लागेको हामी देख्छौँ, हाम्रोमा पनि यसरी बचाउन लाग्नुपर्छ । अरु समुदायहरुले यो कुरा सिक्नुपर्छ, अरुले प्रमुख आयआर्जनको श्रोत बनाउन सक्नुभएको छैन, थारु समुदायले मात्रै सौराहामा यो संस्कार र संस्कृतिको जगेर्ना गरेर अघि बढ्नुभएको छ । अन्य समुदायले पनि संस्कार र संस्कृति जोगाउन लाग्नुपर्छ ।’

पर्यटन व्यवसायी रञ्जन भण्डारी चितवन थारुको पहिचान स्थल भएकाले लोप हुँदै गएको अवस्थामा सौराहा थारु भिलेजले थारु संस्कार र संस्कृति बचाइरहेको बताउँछन् ।

थारु गाउँहरु लोप हुँदै जाँदा उनीहरुका संस्कार र संस्कृतिहरु थारु भिलेजमा सहजै देख्न पर्यटकहरुले पाउने बताए ।

उनले चितवनको आदिवासीको पहिचानसँगै स्थानीय थारु समुदायलाई भिलेजले रोजगारी दिएको बताए ।

संस्कार र संस्कृति जोगिनुका साथै यस्ता कामले पर्यटनमा पनि ठूलो योगदान पुगिरहेको बताए ।

उनले भने– ‘थारु मात्र नभइ अरुअरु पनि कल्चरहरु छन् तर चितवन भनेको एउटा थारुको पहिचान हो । त्यसकारण यो हुन जरुरी छ । थारु गाउँ यो एकदमै महत्वपूर्ण नै छ । चितवनको आदिवासीको पहिचानसँगै यहाँका स्थानीय चौधरीहरुलाई रोजिरोटी दिनुभएको छ, युवाहरु विदेश जानबाट जोगिएका छन् ।’

त्यस्तै सौराहा थारु भिलेजका सञ्चालक मधुसुदन सिलवाल थारु समुुदायको परम्परा, संस्कृति र संसकार बचाउने अभियानले बिस्तारै सार्थकता पाउँदे गएको बताउँछन् ।

उनले थारुको बाहुल्य भएको ठाउँ चितवनमा थारु संस्कृति लोप हुँदै गएपछि विदेशबाट आएर आफूले थारु भिलेजका रुपमा अघि बढाइ संस्कृति र संस्कार जोगाउने काममा लागेको बताए ।

उनले अहिले आन्तरिक तथा वाह्य पर्यटकहरु थारु गाउँ खोजिखोजि आउन थालेको बताए । सौराहामा जंगल सफारीसँगै थारु भिलेज पनि प्रमुख गन्तव्यस्थ्ल बन्दै गएकोमा खुशी लागेको बताए ।

भिलेजमा थारु संस्कृति हेर्न र रम्न पाइने उहाँको भनाइ छ । थारु समुदायले लगाउने कपडादेखि खाने खाना र उनीहरुको संस्कृतिमा रमाउन सकिने बताए ।

भिलेजमा चौधरी स्थानीयहरु ५२ जनालाई रोजगारी दिएको र अझै १५० जनासम्मलाई रोजगारी दिने आफ्नो योजनाअनुसार काम गरिरहेको बताए ।

उनले ढिँकीमा कुटेको चामल, जाँतोमा पिँधेको दाल, तोरी कोलमा पिँधेको तेलहरु विदेशमा पठाइ अग्र्यानिक खाना दिने सोचअनुसार काम गरिरहेको बताए ।

उनले भने– ‘थारुको बाहुल्य भएको ठाउँ चितवन । जतिपनि विदेशीहरु, पाहुनाहरु जतिपनि सौराहा घुम्न आउनुहुन्छ, थारुको संस्कृति, खाना, गाउँ, घुम्न नै आउने हो । तर थारु गाउँ नै लोप हुने अवस्थामा गयो, त्यसपछि म बाहिर थिएँ, बाहिरबाट आएर थारु गाउँ बनाउनुपर्छ भनेर निर्माण गरेको हो । विदेशीहरु थारु भिलेज खोजिखोजि आउनुहुन्छ । थारुको संस्कृति, गाउँ हेर्न पाइन्छ, ड्रेस लगाउन पाइन्छ, देशभरकै । यहाँ ढिँकी, जाँतो पिँद्न पाइन्छ । यो स्थानीय सरकारले गर्नुपर्ने काम हो तर स्थानीय सरकारले केही पनि सहयोग गरेको छैन । अहिले पर्यटकका लागि सौराहामा थारु गाउँले अर्को एक दिनका लागि पर्यटकहरुलाई रोक्ने गन्तव्य बनेको छ । कहाँ जाने भन्दा थारु गाउँ जाने भन्ने छ । धेरै जना सोधीसोधी आउनुहुन्छ । स्पेशल थारु खाना खाने र कल्चर हेर्नका लागि आउनुहुन्छ । ५२ जनाले रोजगारी पाउनुभएको छ, स्थानीयहरु, चौधरीहरु नै हुनुहुन्छ, १५० जना पु¥याउने योजना छ, ढिँकीमा कुटेको चामल, जाँतोमा पिँदेको दाल, तोरी कोलमा पिँदेको तेलहरु नेपालमा मात्रै नभइ विदेशमा पनि सप्लाइ गरेर अग्र्यानिक खाना दिने प्लान छ । ६ देखि ७ करोड लगानी छ । एक वर्ष भयो यो, यो समयमा राम्रो चलिरहेको छ । दशैँपछि धेरै नै राम्रो माहोल छ, यत्तिकै राम्रो भयो भने पर्यटन धेरै राम्रो हुन्छ ।’

उनले एक वर्षअघि ७ करोड लगानीमा शुरु गर्नुभएको सौराहा थारु भिलेजलाई पर्यटकको मुख्य रोजाइमा पर्दै गएको छ ।

दशैँपछिका दिनहरुमा पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको र यही स्तरमा पर्यटकहरु आइरहने हो भने पर्यटनको सम्भावनाका साथै व्यवसाय पनि उत्तिकै फस्टाउँदै जाने बताए ।

पर्यटकीय आकर्षणका लागि सञ्चालित थारु गाउँमा थारु संस्कृतिका सामग्री र खानाको परिकार पाइन्छ । झन्डै तीन विगाहा क्षेत्रफलमा उनले थारु भिलेज बनाएका छन् ।

थारुको पोशाक, थारु जातिले प्रयोग गर्ने सामान, घरलगायत थारु संस्कृतिका सामग्री राखिएको छ । तर सांस्कृतिक ग्रामकै उत्पादनबाट सञ्चालन गर्नसके मात्रै यस्ता सांस्कृतिक ग्राम चल्न सहज हुने र पर्यटकहरुको मुख्य आकर्षण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *