आरती साह मृत्यु प्रकरण

सर्वोच्चको आदेशपछि मोतीबाबु पुनः पक्राउ (भिडिओ)

जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन गर्न आरतीको पतिलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले पुष्टि गरे ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।

दाइजोको निहुँमा आरतीको हत्या पति र ससुराले नै गरेको भन्दै माइत पक्षले जनकपुरधाममा पटकपटक आन्दोलन गरेका थिए । तर प्रहरीले नै फितलो अनुसन्धान गरी मुद्दालाई कमजोर बनाएपछि उच्च अदालतले उनका पति र ससुरालाई छाडिएको माइत पक्षको आरोप छ ।

आरतीका बुवा, आमा, बहिनी र भाई १९३ दिनदेखि काठमाडौंमा अनसनमा छन् । उनीहरु सर्वोच्च अदालत पुगेपछि आरतीका पतिलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश जारी गरेको छ । तर माइत पक्ष अझै अनसन त्यागेका छैन ।

उनीहरु मुद्दा कमजोर पार्ने धनुषाका तत्कालीन एसपी विश्वराज खड्का, अन्य प्रहरी अधिकारी र हत्यामा संलग्न ससुरालाईसमेत कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *