भारतीय पर्यटकलाई लक्षित गर्दै भेडेटारमा खाद्य महोत्सव हुने

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसरमा भेडेटारमा भारतीय पर्यटकलाई लक्षित गरी तीन दिने फुड फेस्टिभल हुने भएको छ ।
होटल एसोसिएसन भेडेटारले शनिवार आयोजित पत्रकार सम्मेलनमा पुस १५ देखि १७ सम्म महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।
संघका अध्यक्ष तुमराज लिम्बुले महोत्सवले १ करोडको व्यापार गर्ने र २० देखि ३० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए ।
लिम्बुका अनुसार महोत्सवमा स्थानीय जातीय परिकार, अर्ग्यानिक उत्पादन र हस्तकलाको प्रदर्शनी रहने छ
। साथै, परम्परागत नृत्य, कृषि अभ्यास, र घरेलु उत्पादनहरू प्रदर्शन गर्ने सांस्कृतिक प्रदर्शनीहरू कार्यक्रमहरू हुनेछन् ।
महोत्सवले यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको झलक, राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति, साथै माउन्टेन बाइकिङ र प्याराग्लाइडिङ जस्ता साहसिक गतिविधिहरू पनि प्रदान गर्नेछ ।
भेडेटारले आर्थिक वर्ष २०६८ देखि खाद्य महोत्सव आयोजना गर्दै आएको छ । सांगुरीगढी गाउँपालिकाका वर्तमान अध्यक्ष एवं संघका पूर्वअध्यक्ष जितेन्द्र रुम्दलीले महोत्सवले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
उनले चाडपर्वमा भारतीय पर्यटक एक रात बस्ने भए पनि भेडेटारको स्वागतमय वातावरणले दिगो छाप छोडेको बताए ।
तीन दिनसम्म चल्ने महोत्सवले भेडेटार वरपरका शैलुङडाँडा, पाथीभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार
पार्क, ठुम्की झरना, नमस्ते झरना, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, जिपलाइनलगायतका प्राकृतिक सौन्दर्य र पर्यटकीय स्थलमा आकर्षण गर्ने अपेक्षा गरिएको सचिव लालबहादुर श्रेष्ठले बताए ।








