एचबिएम फाउण्डेसनद्वारा सगरमाथा आरोहणमा ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । ‘हरिबहादुर बुढामगर फाउण्डेसन’ ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ ।

कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेसनले सहयोग स्वरूप यस वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाएका ६ जनाको परिवारलाई सहयोग गरेको हो ।

ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमबीच फाउण्डेसनले शनिवार मृतकका परिवारका सदस्यलाई जनही १/१ लाख रुपैयाँ सहयोग गरेको हो । फाउण्डेसनका संस्थापक एवं अध्यक्ष बुढामगरले मृतकका परिवारलाई सहयोग हस्तान्तरण गरे ।

बुढामगर आफैँ कीर्तिमानी सगरमाथा आरोही छन् । बुढामगरले २०८० जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ । सहयोग हस्तान्तरण गर्दै बुढामगरले कुनैपनि व्यक्तिका लागि सगरमाथाको शिखरमा पुग्नुमा पथप्रदर्शक (शेर्पा) हरूको मुख्य भुमिका हुने बताए ।

बुढामगरले सगरमाथा आरोहण गर्नेहरूको सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई हरेक वर्ष सहयोग उपलब्ध गराउने बताए ।

सहयोग हस्तान्तरण गर्दै बुढामगरले भने ‘कुनै पनि व्यक्तिका लागि सगरमाथाको शिखर चुम्नेहरूको साथमा जानेहरू खासगरी सेर्पाहरूको ठुलो भुमिका हुन्छ । सगरमाथाको सफल आरोहण गरेपछि हामीले उनीहरूलाई बिर्सन्छौँ तर म यो गर्न चाहन्न । हामीले आफ्नो धरातल बिर्सन हुँदैन । मेरो विश्वास छ सगरमाथा आरोहणमा सहयोगी बनेर जाने सबै दाजुभाइ सफल भएर फर्कनुहुनेछ, तर कुनै दुर्घटना भएको अवस्थामा उहाँहरूको परिवारलाई फाउण्डेसनले सहयोग गर्नेछ ।’

अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकरसमेत रहेका बुढामगरले सगरमाथा आरोहणपश्चात् सम्मान पाइरहेका छन् । बुढामगरले आफू कुनै चर्चाको लागि भन्दा पनि अपाङ्ग सचेतनाका लागि सगरमाथा आरोहण गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =