हिरासतमै थुनुवाको मृत्यु भएपछि हंसपुर तनावग्रस्त, प्रहरीले गोली चलायो

काठमाडौँ । धनुषामा प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले नियन्त्रणमा लिएका दीपा मण्डलको मृत्युपछि हंसपुरको अवस्था तनावग्रस्त भएको हो ।

परिवारजनले प्रहरीले नियन्त्रणमा लिएको दीपालाई निर्घात कुटपिट गरेपछि अवस्था बिग्रिएर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आरोप लगाएको छ । घटनापश्चात आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । उनको एउटा हातमा गोली लागेको बताइएको छ ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले गएराति दुईपक्षबीच विवाद हुँदा घाइते भएका मण्डललाई उपचारको लागि ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । उनकाअनुसार बिहान स्थानीयले विभिन्न आशंकामा चौकी घेराउ गरेको र आगजगी गर्ने प्रयास भएको हो । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले राउण्ड हवाई फायर गरिएको उनको भनाई छ ।

हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै-झगडा हुँदा मण्डललाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो । स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *