युवालाई स्वदेशमै टिकाउने कार्यक्रम आवश्यक

गण्डकी । ‘पछिल्लो समय नेपाली कांग्रेससँग नयाँ पुस्ता खुसी नभएको तथा पार्टीमा नयाँ पुस्ता जोडिन नसकेको गुनासो बढ्दै गएको छ । पुरानो पार्टीबाट देश बन्दैन, यिनीहरुले देश बिगारे भन्ने भाष्य विकास गर्न खोजिएको छ ।’

पोखरामा सम्पन्न नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा प्रदेश सभापति शुक्रराज शर्माले प्रस्तुत गरेको अवधारणापत्रमा भनिएको छ । सभापति शर्माले भनेजस्तै पछिल्लो समयमा कांग्रेसमा मात्र नभइ पुराना राजनीतिक दलमा यो समस्याबारे चर्चा हुने गरेको छ । कांग्रेस सम्मेलनको उद्घाटन सत्रमा मात्र होइन बन्द सत्रका अधिकांश सहभागीले पनि पार्टीमा युवा शक्तिको आकर्षण घटेको दुखेसो गरेका थिए ।

सङ्घीय सरकार होस् वा प्रदेशिक अथवा स्थानीय अधिकांश नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका कांग्रेसजनले बढ्दो युवा पलायनलाई रोक्न विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

विदेशिएका युवा शक्तिको क्षमता र साधनलाई राष्ट्र निर्माणमा परिचालन गर्न भरपर्दो कानुनी सुरक्षा प्रदान गर्ने वातावरण तुरुन्त निर्माण गरे पार्टीको साख बचाउन मद्दत पुग्ने सम्मेलनको अवधारणापत्रमा समेटिएको छ ।

युवाको क्रियाशिलता, सहभागिता, नेतृत्व तथा समर्पण बिना मुलक निर्माणको अभिभारा पूरा गर्न नसकिने उल्लेख गर्दै अवधारणापत्रमा भनिएको छ, ‘नेपालमा युवालाई बस्न, काम गर्न र व्यक्तित्व विकास गर्न अनुकूल वातावरण हामीले दिन नसक्दा युवा जनशक्तिको पलायन डरलाग्दो आकार र गतिमा हुँदै गएको छ । यसले समाजमा व्याप्त निराशाको प्रतिनिधित्व मात्र होइन थप निराशा र असन्तुष्टि पनि बढाउँदै लगेको छ ।’

युवामा आएको विचलन, निराशा र असन्तुष्टिले प्रजातन्त्रको भविष्य पनि धुमिल हुँदै गएको उल्लेख गर्दै सभापति शर्माले गैर जिम्मेवार शक्तिको हातमा मुलकको बागडोर पुग्ने जोखिम बढेर गएको भन्नु भएको छ ।

कांग्रेसले देशभित्र नै अवसर सृजना गरी युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने अभियानको नेतृत्व लिनुपर्ने बताउँदै उनले युवालाई देशमै रोक्नका लागि युवा लक्षित कार्यक्रमहरू बढाउनुपर्नेमा जोड दिए ।

प्रशिक्षित, क्षमतावान युवाको नेतृत्व नभइ परिवर्तन पनि बचाउँन नसकिने उल्लेख गर्दै अवधारणापत्रमा युवासँग भएको सीप, जाँगर, अनुभव तथा शैक्षिक योग्यताका आधारमा सहुलियतपूर्ण ऋण प्राप्त गर्न सक्ने र यस्तो ऋण प्रदान गर्दा स्थापना गरिने व्यवसायलाई नै धितोको रुपमा लिने प्रबन्ध मिलाउनुपर्ने सुझाव दिइएको छ ।

निजी क्षेत्रसँगको सरकारी सहकार्य विस्तार गर्नुपर्ने भन्दै कांग्रेसले निजी क्षेत्रसँगको सहकार्यमा कसरी युवा जनशक्तिलाई देशमै सिकाउन, टिकाउन तथा बिकाउन सकिन्छ भन्ने बारेमा छलफल गरी सोही बमोजिमको नीति कार्यान्वयनमा ल्याउनुपर्नेमा पार्टीले जोड दिएको छ ।

युवाहरूले आरम्भ गर्ने नव प्रवर्तनका कार्यक्रमहरूको स्वामित्व राज्यले लिने वातावरण बनाई युवालाई प्रत्येक पाइलामा सहयोग गर्ने नीति बनाइनुपर्ने भन्दै पार्टीले स्वदेशी उत्पादन तथा सेवाको उपभोगलाई प्राथमिकतामा राख्नुपर्ने बताएको छ ।

विदेशमा रहेका युवाहरूसँगको सम्पर्क वृद्धि गर्दै दीर्घकालमा उनीहरूलाई स्वदेश फिर्ता ल्याउन प्रयास गर्नुपर्ने भन्दै अवधारणापत्रमा तत्कालको लागि उनीहरूको सीप, अनुभव र पुँजीलाई देशमा भित्र्याउन आवश्यक सबै प्रयत्न गर्नुपर्ने उल्लेख छ ।

युवामा व्याप्त निराशाको अन्त्यका लागि सकारात्मक सोचसहितको प्रशिक्षण, ध्यान, योग, साधना शिविरहरू ठाउँ ठाउँमा सञ्चालन गरिनुपर्ने उल्लेख गर्दै सभापति शर्माले युवालाई राष्ट्र निर्माणमा अभिभारा लिन सक्ने बनाउन क्षमता अभिवृद्धि गर्ने, पार्टी नेतृत्वमा अवसर दिने, राष्ट्रका विभिन्न जिम्मेवारीमा युवालाई प्राथमिकता दिने नीति लिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *