सोलुखुम्बुमा शुरू भयो ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’​​

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् !
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् !!

सोलुखुम्बु । वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दूधकोसी गाउँपालिकामा भर्खरै शुभारम्भ गरिएको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ले पूरा गरिदिएको छ ।

माप्य दुधकोशी गाउँपालिका–५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्ने बित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको सहकार्यमा गत शुक्रबारदेखि सुरु गरेको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’का अधिकांश स्थानबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल हेरेर मज्जा लिन सकिन्छ ।

आँखाको सामुन्ने टलटल टल्किने हिमालले यस पदमार्गमा जोडिने जो कोहीलाई स्वर्गीय अनुभूति त हुन्छ नै । त्यो भन्दा बढी यस पदमार्गलाई उपयोग गरी आर्थिक समृद्धिको बाटो पहिल्याउन ढिला गरिएकामा पछुतो लाग्दछ । तीन हजार छ मिटर उचाइमा रहेको सिलगुडी डाँडाबाट सुरु भएको पदमार्ग विभिन्न १४ प्रजातिका लालीगुँरास फुल्ने दाप्सा सामुदायिक वनको जङ्गलैजङ्गल हुँदै करिब चार घण्टामा घुम्ने मेरा भन्ने स्थानमा पुग्छ । घुम्ने मेरामा पुगेर शेर्पा समुदायको स्याब्रु नाचको मज्जा लिन सकिन्छ ।

शेर्पा समुदायको संस्कृतिसँग जोडेको उक्त पदमार्ग ‘कुधाम भ्यू प्वाइन्ट’ पुग्छ । उक्त भ्यू प्वाइन्टमा राति बस्नका लागि वासस्थान निर्माणको कामलाई गाउँपालिकाले अगाडि बढाएको छ । तीन हजार १६८ मिटर उचाइमा रहेको कुधाम भ्यू प्वाइन्टबाट विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र सहजै देख्न सकिन्छ ।

उक्त डाँडाबाट आठ हजार आठ सय ४८ मिटर उचाइमा रहेको सगरमाथासहित बाताङ्गा (५०७७), चोयम (४७१३), विगफेरा (६६००), नुम्बुरचुली (६९६०), कार्लुङ (६५११), कोङदेरी (६१८७) देख्न सकिन्छ । यस्तै, खुङ्वाकाङ (७७४३), ग्यानचोङकाङ (७९५२), चुम्बु (६८५९), लोबुचे (६९९५), काङ्तेका (६७८३), क्यासार (६७६९), मेरापिक (६४७६), चाम्लाङ (७३१९), नौलेख (६३६३), पाङ्वो (६३९०) लगायत २७ हिमाल देख्न सकिन्छ ।

सो डाँडाबाट लुक्ला विमानस्थलमा जहाज अवतरण गरेको र नाम्चे बजारको मनोरम दृश्यसमेत देख्न सकिन्छ । कुधामबाट अर्को दिन योतेल्मे पुग्न सकिन्छ । योतेल्मेमा गाउँपालिकाले पर्यटक खान र बस्न मिल्ने गरी गोठ निर्माण गरेको छ । योतेल्मेबाट दूधकोशीको किनारा सगरमाथा जाने सडक अधेँरीखोला पुग्न सकिन्छ ।

सो गाउँपालिका–२ मा पर्ने अधेरीखोला, डाँडागाउँ घुमेपछि मगर खालिङ राईको सङ्ग्रहालय हेर्न सकिन्छ । उक्त वडामा राईको बसोबास भएकाले साकेला, भूमे नाचको मज्जा समेत लिन सकिन्छ । पर्यटन व्यवसायी पासाङ शेर्पा हिमाल, वन, चराचुरुङ्गी, विभिन्न किसिमका लालिगुराँस हेर्न पाइने भएकाले ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’को ठूलो सम्भावना रहेको बत्ताउँछन् ।

‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सञ्चालन गर्नका लागि ट्रेकिङ एजेन्सीज् एशोसिशयन अफ नेपाल (टान) र माप्य दूधकोशी गाउँपालिकाबीच गत वर्ष सम्झौता भएको थियो । उक्त पदमार्ग सञ्चालन गर्नका लागि टानले गत वर्ष अध्ययन गरेर नक्सासमेत तयार गरिसकेको छ ।

टानका अध्यक्ष निलहरि बाँस्तोला सोलुखुम्बुमा भर्खरै शुभारम्भ गरिएको यस सांस्कृतिक पदमार्ग’ घोरेपानी–पुनहिललाई बिर्साउने पदमार्ग भएको बत्ताउँछन् । ‘तीन हजारभन्दा बढी उचाइमा रहेको उक्त पदमार्गबाट हिमाल, लालिगुराँस र चराचुरुङ्गीको मिठो आवाजसँगै शेर्पा, राई, तामाङ र विभिन्न समुदायको संस्कृति थाहा पाउने भएकाले उत्कृष्ट गन्तव्य बन्नेछ’, उनी भन्छन् । अध्यक्ष बाँस्तोला जनकपुर र हलेसी दर्शनका लागि आएका पर्यटकलाई ‘एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्ग’मा लैजान सकिए सोलुखुम्बुको पर्यटन क्षेत्रले कोल्टे फेर्ने बत्ताउँछन् ।

विश्वमै पदयात्राका लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएका छन् । नेपालमा पदयात्राको सम्भावना र महत्व देखेर नै विश्वका नागरिक यहाँ आउने गरेका छन् । नेपाल आएका पर्यटकमध्ये करिब ३० देखि ४० प्रतिशत पदयात्रामा जाने गरेका छन् ।

नेपाल पर्यटन वोर्डका सूचना अधिकारी मणिराज लामिछाने नेपालको पदयात्रा पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन वोर्डले लामो समयदेखि काम गर्दै आएको बत्ताउँछन् । ‘जतिसक्दो धेरै पर्यटक भित्र्याउनका लागि पर्यटन वोर्ड लागेको छ,’– उनी भन्छन् । आगामी दिनमा माप्य दूधकोशी गाउँपालिकासँग मिलेर ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को पर्यटन प्रवद्र्धनमा लाग्ने उनको भनाई छ ।

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको पर्यटन क्षेत्रको विकासलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बत्ताउँछन् । ‘सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई माप्य दुधकोशी गाउँपालिकामा भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो,’– उनी भन्छन् ।

टानका महासचिव विनोद सापकोटा पछिल्लो समय स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्गहरू मासिँदै गएको बत्ताउँछन् । ‘स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा धेरै पदमार्गहरू मासिँदै गएका छन्, यसलाई जोगाउँदै नयाँ पदमार्ग निर्माणका लागि टान लागेको छ,’– उनी भन्छन् । टानले यसबाहेक गोरखाको बारपाक–सुलिकोट गाउँपालिकादेखि अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका हुँदै मर्स्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्ध हिमाल–हिमचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्न लागेको छ । उक्त पदमार्ग १८ दिनको हुनेछ ।

यसैगरी काभ्रेपलान्चोकको चौँरी देउरालीमा तिमालबाट चौँरी देउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवर्धन गर्नका लागि टानले सो नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । माप्य गाउँपालिकाका वरिष्ठ पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्की प्रकृति र संस्कृति दुवै हेर्नका लागि ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’को परिकल्पना गरिएको बत्ताउँछन् । ‘सगरमाथा हेर्न चाहेका तर थोरै समय भएका पर्यटकलाई लक्षित गरी उक्त पदमार्ग निर्माण गरिएको हो,’– उनी भन्छन् । टानका पूर्व उपाध्यक्ष कार्कीले उक्त पदमार्गको समय बढाउन सकिने बत्ताउँछन् ।

उक्त पदमार्गबाट सिलगुढी, घुम्ने मेरा, कुधम, योतेल्मे, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभीरलगायतको स्थान हेर्न सकिन्छ । त्यसबाहेक उक्त पदमार्गबाट दुधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिन्छ । नयाँ निर्माण भएको पदमार्गमा फुर्वा शेर्पा र किरण तामाङले साइक्लिङसमेत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई गाउँपालिकाले आगामी दिनमा सातै वडालाई जोड्ने गरी नयाँ पदमार्ग निर्माण गर्ने बत्ताउँछन् । अघिल्लो कार्यकालमा समेत गाउँपालिकाका अध्यक्ष भएका राईले गाउँपालिकाले पर्यटनको विकासलाई विशेष प्राथमिकतामा राखेर सात वर्षदेखि बजेट विनियोजन गर्दै आएको बत्ताउँछन् । ‘गाउँपालिकाले वार्षिक कुल बजेटको २० देखि २५ प्रतिशत रकम पर्यटन विकासका लागि विनियोजन गर्दै आएको छ,’– उनी भन्छन् । पर्यटकलाई कम खर्चमा धेरै स्थान देखाउन सकिने अध्यक्ष राईको भनाई छ ।

गाउँपालिकाले उक्त पदमार्गको पर्यटन विकासका लागि होमस्टे(घरवास पर्यटन) निर्माण, कुक तालिम, गोठ निर्माण, टेन्ट क्याम्पिङको व्यवस्थापन गर्दै आएको छ । सो गाउँपालिकाले आइतबार मात्र गाउँपालिका–५ स्थित महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना समेत गरेको छ । विश्व कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पा स्वदेशी तथा विदेशी पर्यटकलाई लुकेको कुरा देखाउन सके पर्यटन क्षेत्रको विकास सहज रूपमा गर्न सकिने बत्ताउँछन् । ‘पर्यटकले नयाँ कुराहरू हेर्न चाहेको हुन्छ, नयाँ कुरा देखाउन सकिए मात्र पर्यटन क्षेत्रको विकास हुन्छ,’ आरोही शेर्पा भन्छन् ।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन् । नेपालमा वार्षिक रूपमा स्वदेशी तथा विदेशी दुई लाखभन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको पाइन्छ । पछिल्लो समय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

ब्याक प्याकर्स एडभेन्चरका सञ्चालक एवं पर्यटन व्यवसायी दुर्गाप्रसाद (कृष्ण) रेग्मी संसारको सबैभन्दा राम्रो पदयात्रा गन्तव्य नेपाल भएको बत्ताउँछन् । नेपालमा धेरै ट्रेकिङ क्षेत्र भए पनि सञ्चालनमा भने कमै कम मात्र आएका छन् । अन्नपूर्ण, सगरमाथा, लाङ्टाङ, मुस्ताङ, डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । विश्वका विभिन्न ट्राभल एडभाइजरहरूले पनि नेपालका विभिन्न पदयात्रा मार्गहरूलाई विश्वकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *