संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा छ : अनिता देवी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् ।
उनले निजामती ऐन कुनै राजनीतिकर्मीले ड्राफ्ट नगरेको र विभिन्न तहका विद्वत वर्गले तयार पारेको बताइन् । उनले संसदमा दर्ता भएसँगै सरोकारवाला निकायहरूसँग समन्वय र छलफल गरेर आफूहरू अघि बढ्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन् ‘जुन समयमा मैले मन्त्रालय सम्हालेँ त्यतिखेर निजामती ऐन अन्तिम चरणमा थियो । निजामती ऐन कुनै राजनीतिकर्मीले ड्राफ्ट गरेको पनि होइन, उहाँहरू जस्तै विद्वानले गर्नुभएको छ । कुनै राजनीतिकर्मीले गरेको भए अलि प्रश्न आउँथे तर उहाँहरूजस्तै विज्ञहरूले, पेसाकर्मीहरूले गर्नुभएको हो । तर उहाँहरुले आफ्नो सम्बोधन कति राख्नुभएको छ वा छैन त्यो भन्न मिल्दैन । त्यो क्याबिनेटबाट पास भएर हाउसमा दर्ता हुने क्रममा छ । अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल गरेर अघि बढ्नेछौँ । सरकारको सम्पत्ति भनेर मन्त्रालयले जिम्मा लगाइसकेको छ । मन्त्रालयमा फिर्ता भएर आएको छैन, संसदमा दर्ता हुने क्रममा छ ।’
मन्त्री देवीले पशु चिकित्सकको हक अधिकार सुनिश्चित गर्न सरकार तत्पर रहेको बताए ।








