बालिकाको शव नग्न अवस्थामा भेटियो, बलात्कारपछि हत्याको आशंका

काठमाडौँ । धनुषामा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका-९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो ।

२४ घण्टादेखि हराइरहेकी उनको शव बिहीबार बेलुका करिब ७ बजे फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए । ‘तलको भागको कपडा छैन। शरीरमा रगतजस्तो देखिएको छ । संवेदनशील अंगमा चोट देखिएको छ,’ उनले भने, ‘बलात्कारकै आशंका छ, यसबारे विस्तृत अनुसन्धानपछि खुल्ला ।’

शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए÷नभएको खुल्ने उनको भनाई छ । विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा ती बालिका बुधवार साँझ आमासँगै गएकी थिइन् । त्यहीँबाट उनी बेपत्ता भएकी थिइन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको प्रहरी उपरीक्षक शमाले बताए । अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *