बेपत्ता युवक खोज्न भोलि सेती बाँध खोलिंदै, तटीय क्षेत्रमा सचेत रहन आग्रह

पोखरामा बेपत्ता एक युवकको खोजीका लागि बिहीबार सेती नदीको बाँध खोलिने भएको छ । तनहुँ घर भई हाल पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र २५ गतेदेखि सम्पर्कविहीन छन् ।
बिरामी भएपछि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएका संगम त्यहींबाट सम्पर्कविहीन भएका थिए। उनका बुवा औषधि लिन गएको बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
सेती नदीको झोलुंगे पुलमा उनले लगाएका कपडा र परिचय पत्र भेटिएकाले नदीको बाँध खोल्न लागिएको हो। जिल्ला प्रहरी कार्यालय, कास्कीले बुधबार सूचना जारी गर्दै
मिश्रको खोजी गर्न पोखरा–१६, दीपमा बनेको ड्याम खोल्न लागिएको जानकारी दिएको हो।
ड्याम बिहीबार १२ बजेदेखि ४ बजेसम्म खोलिने प्रहरीको सूचनामा उल्लेख छ ।
उक्त समयमा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्न र नदीको किनारमा नआउन तथा आउनै परे सुरक्षा सतर्कता अपनाउन सूचनामा अनुरोध गरिएको छ।








