पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन (तस्बिरहरु)

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ। पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ। 

मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ। यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएका छन्। प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ।

यस पर्वका लागि कोषले पशुपतिनाथको पूर्वी ढोकाअघिको वाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ। यसैगरी शतबीज मार्गमा बत्ती राखिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए।

कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गरेको छ। पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ। पर्वका अवसरमा कोषले रोपेको बिरुवा नमास्न, ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न कोषले भक्तजनसँग आह्वान गरेको छ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =