यू–१९ एसिया कप : अफगानिस्तानसंग नेपाल पराजित

काठमाडौं । एसिसी यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसंग ७३ रनले  पराजित भएको छ ।

२ सय ६२ रनको बलियो लक्ष्य पच्छ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुँदै १८८ रनमात्रै जोड्न सक्यो ।

नेपालका अर्जुन कुमाल १ सय ८ बलमा १३ चौकासहित ९१ रनमा आउट भए । अन्तिम विकेटको रुपमा एज लागेर अर्जुन विकेटकिपर नौमान अलीबाट क्याच आउट भए ।

अर्जुन बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् । नेपालले ओपनर विपिन रावललाई शून्यमा गुमाएको थियो । दीपक बोहरा १३ बलमा ३ चौकासहित १५ रनमा क्याच आउट भए । फरिदुन दावुदजाईको बलमा नौमान अघाबाट दीपक क्याच आउट भएका थिए ।

कप्तान देव खनाल ३७ बलमा २ चौकासहित २४ रनमा क्याच आउट भए । उत्तम थापामगर ४ र आकाश त्रिपाठी शून्यमा आउट भएपछि नेपाल समस्यामा परेको थियो ।

गुलशन झा २० बलमा २ छक्कासहित १७, दीपेश कँडेल ११, सुवास भण्डारी ८ र हेमन्त धामी शून्यमा आउट भए । अफगानिस्तानको जितमा तीव्र गतिका बलर फरिदुन दावुदजाईले ७.१ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नसिर खानले १० ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । मोहम्मद युनिस जद्रानले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको थियो ।

अफगानिस्तानका जाम्शिद जद्रानले १ सय ५२ बलमा ८ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए ।

त्यस्तै नौमान साह अघाले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए । पाँचौं विकेटका लागि नौमानले जम्शिद जद्रानसँग ८२ बलमा ९७ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानलाई बलियो योगफलमा पुर्याएका थिए ।

नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए ।

हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए ।

एक समय अफगानिस्तान ६।३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको ८१ रनको साझेदारीले अफगानिस्तान खेलमा सम्हाल्लिएको थियो ।

दीपेशको २८ औं ओभरको दोस्रो बलमा जुरमाती ३५ रनमा क्याच आउट भए । ब्याकवार्ड प्वाइन्टमा सुभाष भण्डारीले उत्कृष्ट क्याच लिँदै साझेदारी तोडेका थिए ।

नेपालका हेमन्त धामीले ६ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले १० ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८.३ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =