आरतीका श्रीमानलाई पुनः कारागार पठाउन सर्वोच्चको आदेश, ससुरालाई एक लाख धरौटी

काठमाडौँ। सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ।
बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो । साथै आरती साहका ससुरासँग १ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशसँगै धरौटी बुझाएर दुवै जना थुनामुक्त भएका थिए।
गत जेठ ७ गते आरती साह जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकस्थीत आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए।
प्रहरीको अनुसन्धानपछि उनीहरुविरुद्ध अदालतमा कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको थियो। उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएपछि आरती साहका परिवार र आफन्त न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा समेत बसेको थिए।








