कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

ढोरपाटन (बागलुङ) । बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ ।

बसपार्क निर्माण भएको दुई वर्ष पूरा भइसक्दा पनि बसपार्क कहिले सञ्चालनमा आउँछ भन्ने पत्तो छैन ।

नगर विकास कोषबाट करोडौँ ऋण लिएर बसपार्क निर्माण गरिएको थियो । अहिलेसम्म उक्त ऋण चुक्ता भइसकेको छैन । नगरपालिकाले हरेक वर्ष करिब रु ६० लाख भुक्तानी गर्दै आएको छ । निर्माणसम्पन्न भएको बसपार्क वर्षौँसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ ।

बसपार्क सञ्चालनमा नआउँदा एकातिर बजारमा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छ भने अर्कोतिर बसपार्क प्रयोगबिना नै भत्किने जोखिम बढेको छ ।

पाँच वर्षअगाडि ठेक्कामा गएको बसपार्क वि.सं २०७८ मा निर्माण सम्पन्न भएको थियो । पाँच दशमलव पाँच प्रतिशत ब्याजमा २० वर्षभित्र असुल गर्ने गरी नगर विकास कोषले वि.सं २०७४ मा रु नौ करोड चार लाख ३९ हजार ऋण नगरपालिकालाई दिएको थियो ।

दुई वर्षअगाडि निर्माण भएको बसपार्कको अहिले पार्किङ स्थलको कालोपत्र उप्कन थालेको छ । उपल्लाचौरमा निर्मित बसपार्क पहुँच मार्ग नबनेका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ । बसपार्क जोड्न एक सय मिटर सडक बनाउनुपर्दछ । बसपार्क सञ्चालनमा आए सटर भाडामा दिएर राम्रो आम्दानी गर्न सकिने भए पनि दुई वर्षदेखि सञ्चालनमा नआउँदा नगरपालिकाले ठूलो आम्दानीको स्रोत गुमाइरहेको छ ।

सुरुको लागत रकम रु सात करोड ६६ लाख ९९ हजार ७४ रहे पनि पहिलो ‘भेरियसन’बाट रु एक करोड १३ लाख ६० हजार पाँच सय २० थप भएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै रु आठ करोड ८० लाख ६४ हजार एक सय ९८ को बिल पेस गरेको थियो । कम्पनीले स्वीकृत गरिएको भन्दा रु ४० लाख ७० हजार नौ सय ७४ बिल भुक्तानी गरेको भए पनि बागलुङ नगरपालिकाले हालसम्म रु आठ करोड ८३ लाख एक हजार नौ सय ९४ भुक्तानी गरिसकेको छ ।

नगर विकास कोषबाट लिएको ऋण र नगरपालिकाको आफ्नै स्रोतबाट गरी सो रकम भुक्तानी गरिएको छ । नगरपालिकाले नगर विकास कोषलाई अझै रु छ करोड ४३ लाख सात हजार तीन सय १५ भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । बसपार्क सञ्चालनका लागि प्रयास भइरहेको नगर उपप्रमुख राजु खड्काले बताए । स्थानीय र जग्गादातासँग सहमति जुटाएर पहुँचमार्ग व्यवस्थित गरी सञ्चालन गरिने उनको भनाइ छ ।

बसपार्क निर्माणका लागि स्थानीय २२ परिवारले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए । वि.सं २०५७ देखि बसपार्कका लागि जग्गा व्यवस्थापन गर्न थालिएको थियो । बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माणको काम पनि बाँकी नै छ ।

जग्गा व्यवस्थापन तथा विकास समितिसँग भएको सम्झौताअनुसार नगरपालिकाले ती पूर्वाधार बनाई दिनुपर्ने समितिका अध्यक्ष सुभासचन्द्र राजभण्डारीले बताए ।

नगरपालिकाले आफूहरूसँग गरेको १२ बुँदे समझदारीलाई पालिकाले कार्यान्वयन गर्नुपर्ने उनी बताउँछन् । बसपार्कमा ५० ठूला बस र १० साना बस अट्ने क्षमता छ । सो बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, टिकट कक्षलगायत संरचना बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *