एसिसि यु–१९ एसिया कप

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्छौँ : यु–१९ नेपाली क्रिकेट टोली

काठमाडौँ । नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि सुरु हुने एसिसि यु–१९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार एक कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूहचरण पार गर्ने बताएका छन् ।

आगामी शुक्रवारदेखि सुरु हुने एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्याउ आतुर रहेको बताए ।

उनले सिनियर टोलीले पनि राम्रो गरिरहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यु–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राखे । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताए ।

यु–१९ एसिया कपमा मंसिर २२ देखि पुष एक गतेसम्म संयुक्त अरब इमिरेट्स(युएई) मा सुरु हुँदैछ । यो एसिया कपको अर्को समूह ‘बी’ मा बङ्गलादेश, श्रीलंका, जापान र युएई छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो ।

यु–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतीपूर्ण रहनेछ । यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ एसिया कपको यात्रा थाल्दैछन् ।

कप्तान देवले एसिसी यु–१९ एसिया कपमा नेपालको मुख्य लक्ष्य टेस्ट टोलीलाई हराउँदै सेमिफाइनलमा पुग्ने आशा व्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखेका छन् ।

उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको बताए । यो यात्रा अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेलले पनि युवा टोलीले राम्रो एक्सपोजर पाएको उनको विश्वास छ ।

यो तयारीका लागि नेपालले दुई हप्ताको अभ्यास गरेको छ । यस क्रममा नेपालले फरक फरक पिचमा आफूलाई अभ्यस्त बनाएको पनि प्रशिक्षक टमटा बताउँछन् । युद्धमा जाँदै सबै जित्नकै लागि जाने उल्लेख गर्दै प्रशिक्षक टमटाले राम्रो क्रिकेट खेल्दै जित निकाल्ने विश्वास व्यक्त गरे ।

युवा टोलीका बिदाइको क्रममा क्यानका सचिव पारस खड्काले सिनियर टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए । नेपाली युवा टोलीलाई बिदाइ गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले संसारलाई जित्ने क्षमता नेपाली क्रिकेट टोलीसँग रहेको प्रोत्साहित गर्दै सिनियर टोलीले जस्तै युवा टोलीले पनि राम्रो नतिजा ल्याउने आशा व्यक्त गरे ।

अब खेलाडीले जितेको दुई हप्ताभित्र नै पुरस्कार पाउने वातावरण सिर्जना गरिरहेको बताए । युवा टोलीले पाउनुपर्ने पुरस्कार पनि २÷३ दिनमा नै सबैको खातामा आउने उनको मन्त्री लिम्बूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *