केपी ओली कपको उपाधि मधेश प्रदेशलाई, आर्मी स्तब्ध

काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रवार पोखरा क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश च्याम्पियन भएको हो ।

मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि आर्मीलाई २४ रन चाहिदा विवेक यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिएका थिए ।

तर त्यसपछिका तीन बलमा आर्मीका सोमपाल कामीले मधेशका रुपेश सिंहको बलमा एक रन मात्र जोड्न सके ।

सोमपालले १५ बलमा नटआउट १६ रन र विवेकले १४ बलमा नटआउट २५ बनाए ।

त्यसअघि कप्तान विनोद भण्डारीले ३२ रन, सन्तोष कार्कीले १६ रन र भीम सार्कीले २२ रन जोडेका थिए । आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा मधेशका कप्तान हरिशंकर साहले ४ विकेट लिए । उनले ४ ओभरमा १९ रन खर्चिए । प्रदीप पासवानले २ विकेट लिए भने पार्थिक यादवले १ विकेट लिन सफल भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेटको क्षतिमा १३५ रन जोड्यो ।

मधेशका लागि विशाल पटेलले नटआउट ४९ रन जोडे । उनले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान हरिशंकरले २७ रन जोडे भने हिमांशु दत्तले १४ रन र विशाल सुस्लिङले १० रन बनाए ।

मधेशका अरु ब्याटर दोहोरो अंकमा रन नजोडी आउट भए ।

बलिङमा आर्मीका विवेक यादव र शाहव आलामले ३–३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिन सफल भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *