योद्धाले बचाएको देशलाई समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढाउनु छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई बचाइराख्नु आजको आवश्यकता भएको बताएका छन् ।
शुक्रवार पार्टीको महाकाली—मेची अभियानका क्रममा डडेलधुराको अमरगढीमा अमरसिंह थापाको शालिकमा माल्यार्पण र फूल अर्पण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अमरसिंह थापा जस्ता योद्धाहरूले लडेर बनाएको देशको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डतालाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुपर्ने बताए । उनले हरेक नागरिकले आफू भन्दा पहिला देश सोच्नुपर्ने बताए ।
उनले भने ‘अमरसिंह गढी नाम राखिएको यो गढी तत्कालीन प्रधानसेनापति उहाँको ७३÷७४ वर्षको उमेरमा यो बनाउनुभएको हो किल्ला । यो किल्लाले त्यसबेला महत्वपूर्ण भुमिका खेलेको थियो । यो किल्ला राम्रा, सुन्दर र सुरक्षित किल्लाहरूमध्येको एउटा हो । अमरसिंह थापा एउटा यस्तो योद्धा हो जसको १८१५ को ब्रिटिश इन्डियासँगको नेपालको आत्मरक्षा र न्यायको लडाइँ थियो । अमरसिंह थापा प्रधान सेनापति, भीमसेन थापा उनका छोरा त्यसबेला पाल्पाको कमान्डमा थिए र सबैभन्दा बाहिरी किल्लामा अमरसिंहका माहिला छोराका छोरा बुटवल गढीको रक्षा गर्न तैनाथ थिए । त्यहाँबाट अङ्ग्रेज सेनालाई लखेटेर खासमा भन्ने हो भने नेपालको विजयी भयो । अमरसिंह थापा महान् देशभक्त, महान् योद्धा, महान् जनरल र वास्तवमा देशका लागि समर्पित र आफूमात्रै नभई पुस्तौँपुस्ता समर्पित हुनुहुन्थ्यो । आफू पछाडि नभई अघि बढेर कमान्ड गर्नुहुन्थ्यो । सिपाही भन्दा अघि बढ्नुहुन्थ्यो । अमरसिंह थापा हामी सबैका निम्ति अत्यन्त आदरणीय हुनुहुन्छ । उहाँहरू जस्ता योद्धाले लडेर बचाएको, बनाएको देश आज यसको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रताका साथै यसको भौगोलिक अखण्डताका लागि उहाँहरू लड्नुभयो, त्यसलाई बचाएर समृद्ध नेपाल र सुखी नेपालीतिर अघि बढ्नुछ ।’
अध्यक्ष ओलीले अमरसिंह थापा सबै नेपालीका निम्ति आदरणीय रहेको बताए ।








