महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउँछौँ : आरजु राणा

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा.आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रूपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन् ।

उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् । उनले पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन् ।

उनले आफूहरू पार्टीका विभागहरू भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गरिन् । उनले संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताइन् । उनले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताइन् ।

उनले भनिन् ‘महिलाहरू वडा महिला सदस्य र दलित महिला सदस्यमा मात्रै उठ्ने होइन । त्यही लेभलमा बस्ने हो ? त्यसमा बस्दैनौँ भन्नुभयो, त्यो धेरै हिम्मतको कुरा हो । हामीले हाम्रो पार्टीमा त दबाब दिइसकेका छौँ । हामीले केन्द्रीय समितिमा पनि महिलाहरूले कुरा उठाइसके । अरु पार्टीका सदस्यहरूले पनि कुरा उठाउनुपर्छ । नेपाली काँग्रेस पार्टीको महासमिति पनि आउन लागेको छ । त्यहाँ पनि हामीले एउटा महिला पदाधिकारीका कुराहरू पनि हामी उठाउँछौँ । हरेक लेभलमा खालि किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरु पोस्टमा पनि महिला हुनसक्छ नि । अहिले विभागहरू बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ । विभागको नेतृत्व । खालि मेम्बर मात्रै हुने । हामी भोट मात्रै हाल्ने ? हाम्रो आवाज सुन्नु परेन । त्यसो हुनाले अब संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्छ । संविधान संशोधन हुनसक्ने कुरा हो । जस्तो समुदायको माग र समाजको माग हुन्छ, त्यही शिरोबाट परिवर्तन गरेर अघि बढ्ने हो । सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्शन लड्ने ठाउँ अब बनाउनै पर्छ ।’

सांसद राणाले सबै ठाउँमा महिला–महिलाबीच प्रतिस्पर्धा गर्ने स्थान हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *