दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि पक्राउ परेका छन् ।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

जसमध्ये प्रसाईंका स्वकीय सचिव रहेका विनञ्जय थापा पनि रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन् ।

दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले पनि स्वकीय सचिव थापालाई प्रहरीले पक्राउ गरेको बताए । प्रदर्शन सकिसकेपछि प्रहरीले थापालाई पक्राउ गरी लगेको उनले बताए ।

यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो । उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का प्रहरीको नियन्त्रणमा छन् ।

उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइनसकेको एसपी ढुंगेलले बताए ।

मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो । त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको परिसरले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =