टिप्पणी

राजावादीहरूको टकराब : टाउको झापा, पुच्छर काठमाडौंमा !

काठमाडौँ । शनिबार एकै दिन देशमा राजावादीहरूले दुई आन्दोलन गरे । दुर्गा प्रसाईंले काठमाडौंमा र राप्रपाले झापामा । राजसंस्था पुनः स्थापनाको मुद्दासहित काठमाडौंमा चलिरहेको आन्दोलन छिचोलेर पूर्वराजा ज्ञानेन्द्र शाह झापा गए । झापामा उनलाई राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राम्रै स्वागत गरेको थियो । काठमाडौंमा दुर्गा प्रसाईंलाई नपत्याएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजेन्द्र लिङ्देनले झापामा तामझाम उतार्दा काठमामाडौंमा प्रसाईंको कार्यक्रममा थोरैको सहभागिता थियो । यी दुई दृश्यले देखायो- झापामा टाउको, काठमाडौंमा पुच्छर !

राजावादीहरूबिचकै विभाजित टकराबले अन्ततः राजसंस्था पुनः स्थापनासहितको मुद्दा उठाएर काठमाडौंमा सुरु भएको दुर्गा प्रसाईंको आन्दोलन सकियो । अब यो आन्दोलनको औचित्य पुष्टि गर्न प्रसाईंले कस्तो रणनीति लेलान् ? एकातिर प्रसाई अराजक बनेको भन्दै सरकारले टसको मस हुन दिएको छैन । प्रसाईंलाई नै सरकारले मनलाग्दी गर्न नदिएपछि उनका समर्थकको पनि हरिविजोक भएको छ ।

प्रसाईंको सिंहदरबार घेर्ने, व्यवस्था पल्टाउने, राजा ल्याउने र बैङ्क, वित्तीय संस्थाका पीडितको ऋण मिनाहा गर्ने उद्घोष दुई दिनमै ओझेलमा परेको छ ।

पहिलो दिन उल्लेख्य संख्यामा प्रदर्शनकारी सडकमा आए पनि त्यसपछि क्रमशः घट्दै गएर आन्दोलन स्थगित नै भएको छ । पहिलो दिनको संख्याले हौसिएका प्रसाईंले आन्दोलन निरन्तर हुने घोषणा गरे पनि जनताको साथ पाउन सकेनन् । प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो ।

भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम स्थगित भएको छ । अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ । त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम भयो ।

त्यसैगरी प्रहरीले घर घेरा हालेर उनलाई त्यसदिन बाहिर निस्कनै दिएन । तीनकुनेमा केही मात्रामा देखा परेका प्रदर्शनकारीलाई पनि प्रहरीले तत्काल पक्राउ गरिहाल्यो । तेस्रो दिन शनिबार प्रशासनले प्रदर्शनका लागि सिफल चौर छुट्याइदिएको थियो । त्यहाँ पनि उनका समर्थकको उपस्थिति पातलो थियो । उनलाई साथ दिएका राजावादीहरू नै किस्ता किस्तामा बाँडिएर आन्दोलन कमजोर बनेपछि प्रसाईंले शनिवार राजसंस्था पुनः स्थापनाको मुद्दालाई उठाएनन् ।

दुर्गा प्रसाईंले काडमाडौंमा जनविद्रोह छेड्दा ठुलाहरू अलिकति भएपनि झस्किएका छन् । तर राजावादीहरू नै एक छैनन् । सडक आन्दोलन गरेर यो व्यवस्था परिवर्तन गर्ने दुर्गा प्रसाईं र राप्रपाको दाबी काठमाडौंमा र झापामा गरिएको आन्दोलनले पुष्टि गर्न सकेन ।

सरकारको उल्टो बाटो
सडकमा विरोधी आवाज बलियो बन्दै जाँदा सरकार भने उल्टो बाटोमा देखिएको छ । पुराना दल र शीर्षस्थ नेताहरूको शैलीकै कारण नागरिकले गोली थाप्न तयार रहेको प्रतिक्रिया दिइरहँदा सरकार समस्या समाधानभन्दा उत्तेजित बनाउन लागि परेको छ ।

राजनीतिक फाइदामा लागेका पुराना दलहरुसंयमितभन्दा आक्रामक बन्दा दुर्गा प्रसाईं जस्ता पात्र हिरो बन्न थालेका छन् । नागरिकका लागि सरकार भएको आभास दिलाउन सके प्रसाईं जस्ता पात्रले खेल्ने सक्ने ठाउँ पाउँदैन थिए । यस्तै वित्तीय संस्थामा बचत राख्दा वा ऋण लिँदा पीडित हुनु पर्ने आम सर्वसाधारणको समस्यामा सरकारले पार लगाउनै नसक्ने अवस्था पनि छैन । जुन मुख्य कारणलाई बेवास्ता गर्दै सरकार आन्दोलनकारीलाई दमन गर्ने उल्टो बाटो हिँडिरहेको छ ।

आन्दोलनमा सहभागी भएकाहरूको समस्या हेर्दा सरकारले आफूले जनाएका प्रतिबद्धता वा सहमति कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह मात्रै गरे पनि यो समस्या सजिलै समाधान हुने अवस्था देखिन्छ । सरकारका लागि यस्ता समस्या, समस्या नै बन्नु नपर्ने हो । तर सरकारकै अकर्मण्यताका कारण सरकार विरोधी आवाज थपिँदै छन्, निराशाका स्वरहरू पनि बढ्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *