माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय
२०८० मंसिर ५ गते

नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
बैठकले पार्टी एकताका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
यादवका अनुसार एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महासचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहनेछन् । पार्टीको नाम अहिले नेकपा (समाजवादी) बनाउने सहमति भएको छ । एकता प्रक्रिया सुरु भएपनि माओवादी केन्द्रले विशेष महाधिवेशनबाट माओवादी केन्द्र फुर्को हटाएपछि पार्टी एकीकरण घोषणा हुने यादवले बताए।
यसअघि पदाधिकारी बैठकले केन्द्रीय कार्यकारिणी बैठकले माइन्युट तयार गरेको थियो। सोमबार बाबुराम निवास टोखामा बसेको शीर्ष चार नेताले एकताको विषयमा टुंगो लगाएका थिए ।
सहमतिको माइन्युटलाई बुधबार बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने महासचिव यादवले बताए । यस्तै विधान संशोधनका लागि मस्यौदा समिति बनाउने निर्णय भएको उनले बताए । नेसपामा एक सय ८९ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेको छ ।
९ जना पदाधिकारी र २४ कार्यकारिणी सदस्य रहेका छन् । एकता गर्ने निर्णयसँगै ८ वर्षअघि माओवादी छाडेका बाबुरामलाई पुरानै घर फर्किन बाटो खुलेको छ।
२०८० मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








