विश्व टेलिभिजन दिवस

‘मिडियाको नियमन निकायमा सरकार चुक्यो’

काठमाडौं । हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।

विश्व टेलिभिजनको अवसरमा आम सञ्चार तथा प्रशारण विज्ञ लक्ष्मण हुमागाईं नेपालको टेलिभिजन उद्योग कतै कमजोर बनेको हो की भन्ने महशुस हुन थालेको बताउँछन् ।

उनले टेलिभिजनले विषयहरु राम्रोसँग उत्पादन गर्न छाडेको बताए । उनले टेलिभिजनलाई छुट्टै संरक्षणको नीति आवश्यक परेको पनि बताए । सामाजिक सञ्जालको दबाब विश्वभर नै परेको बताउँदै आम सञ्चार तथा प्रशारण विज्ञ हुमागाईंले सामाजिक सञ्जालको प्रभाव विश्वभरका सञ्चारमाध्यममा परेपनि सामाजिक सञ्जाल मिडिया नभएको बताए ।

सामाजिक सञ्जाल आम सञ्चारका माध्यम नभएर व्यक्तिगत माध्यम भएको बताए । उनले सामाजिक सञ्जाल व्यक्तिगत सूचना प्रवाह र नेटवर्क प्रवाह गर्नका लागि काम गर्ने माध्यम मात्रै भएको बताए ।

सामाजिक सञ्जालको कारणले गर्दा विज्ञापन बजारमा केही असर प्रभाव परेको तर टेलिभिजनको विज्ञापन आजको दिनमा पनि विश्वमा पहिलो नम्बरमा पर्ने बताए । आम सञ्चार तथा प्रशारण विज्ञ हुमागाईंले टेलिभिजनको महत्व अहिले नघटेको बरु बढ्दै गइरहेको दाबी गरे ।

उनले टेलिभिजनकै कन्टेन्ट प्रयोग गर्ने परिपाटी सामाजिक सञ्जालमा भइरहेकाले पनि टेलिभिजनको महत्व झनै बढीरहेको बताए । नेपालमा टेलिभिजन क्षेत्र कमजोर भएको हो की भन्ने लागेपनि अहिले पनि विश्वस्तरमा पहिलो नम्बरमा विज्ञापन जाने माध्यम टेलिभिजन भएको बताए ।

उनले मिडियाको नियमन निकायमा सरकार चुकेको बताए । उनले सञ्चारमाध्यमको नियमन निकाय बनाउँदा देशमा धेरै च्यानलहरु सञ्चालन भएकाले विकृति बढेको बताए ।

लगानी, योजना, विकासमा ध्यान नदिइ सामान्य प्राविधिक कुरालाई हेरेर लाइसेन्स दिँदा देशमा अहिलेको अवस्था आएको बताए । उनले देशमा जतिसक्दो छिटो आम सञ्चारमाध्यमको नियमन निकाय बनाउनुपर्ने बताए ।

नियामक निकायले प्राविधिक विषयका साथै योजनाका बारेमा र लगानीका बारेमा पनि सोधपुछ नगरी जथाभावी स्वीकृत प्रदान गर्नु नहुने बताए । छिटो भन्दा छिटो आमसञ्चारमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पठाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘टेलिभिजन उद्योगलाई हेर्दा कतै टेलिचिजन कमजोर बनेको हो की ? कन्टेनहरु राम्रोसँग उत्पादन गर्न नसकेको हो की ? टेलिभिजनलाई छुट्टै संरक्षणको नीति आवश्यक परेको हो की ? वा टेलिभिजनको बजार सकिँदै गएको हो की ? सामाजिक सञ्जालले टेलिभिजनलाई निकै दबाबमा राखेको हो की भन्ने आशंका हुनसक्छ ? तर नेपाललाई मात्रै नहेरेर विश्वको सन्दर्भलाई हेर्दा सामाजिक सञ्जालको दबाब विश्वभर नै बढेको छ । सामाजिक सञ्जाल मिडिया होइन, माध्यम मात्रै हुन् । यी आम सञ्चारका माध्यम होइनन्, व्यक्तिगत माध्यम हुन् । सामाजिक सञ्जालको कारणले गर्दा विज्ञापन बजारमा केही प्रभाव परेको छ । केही विज्ञापन सामाजिक सञ्जालतिर गएका छन् । आज पनि विश्वमा टेलिभिजनको विज्ञापन एक नम्बरमा पर्छ, त्यसपछि मात्रै सामाजिक सञ्जालमान जाने विज्ञापन हेरिन्छ । टेलिभिजनको महत्व अहिले घटेको छैन, बढेको छ, किनभने टेलिभिजनकै कन्टेन प्रोडक्शन गर्ने मेथोलोजी सामाजिक सञ्जालमा प्रयोग भएको छ । टेलिभिजन उद्योग अहिले झ्वाट्ट हेर्दा कमजोर भएको हो की जस्तो लागेपनि भारतकै अध्ययन गर्दा पनि अहिले पनि एक नम्बरमा विज्ञापन जाने र सबैभन्दा बढी जाने टेलिभिजन नै हो । नेपालमा पनि मल्टिनेशनल कम्पनीले बढी लगानी टेलिभिजनमै गरेका छन् । मिडियाको नियामक निकाय नबनाउँदा हामी चुकेका छौँ । हामीले यति पैसा बुझाउ, लाइसेन्स लैजाउ भन्ने रुपमा टेलिभिजन खोल्न अनुमति दियौँ, जसको कारणले विकृति बढेको छ, लगानी, प्लान, केही हेरेनौँ, सामान्य प्राविधिक कुरालाई हेरेर रेडियो र टेलिभिजनलाई अनुमति दियौँ, जसको परिणाम अहिले मुलुकले भोग्दैछ । जति सकिन्छ छिटो, आम सञ्चारमाध्यमको नियामक निकाय गठन गरौँ, त्यसले प्राविधिक विषयका साथै योजना, लगानी, श्रोत र उद्देश्य नहेरी सञ्चारमाध्यमलाई जथाभावि स्वीकृति दिनबाट रोकौँ । जति सकिन्छ छिटो आमसञ्चारमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पठाउनु पर्छ ।’

यता, भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले नेपाली टेलिभिजनमा प्रशारण हुने कन्टेन्ट विषयवतुहरुको स्तर खस्केको बताए । उनले कन्टेन्ट राम्रो भएसम्म टेलिभिजनको महत्व नघट्ने बताए ।

उनले प्रशारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व छैन भन्न नहुने बताए ।

उनले मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको बताए । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता झनै बढ्ने उनको भनाइ छ ।

नक्कल गरेर विषयवस्तु पस्किने प्रचलनले पछिल्लो समय सञ्चारमाध्यमको महत्व खस्किँदै गएको बताए । उनले टेलिभिजनको गुणस्तर उच्च बनाउनुपर्ने बताए ।

उनले राम्रोसँग व्यवस्थापन हुनसके नेपालमा विज्ञापनको अभाव हुने अवस्था नरहेको बताए । उनले नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने उद्योगप्रतिको इमान्दारिता पस्किनुपर्ने बताए ।

उनले राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नदेखेको बताए । उनले राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेकाले पनि दर्शक अर्कोतर्फ गएको बताए ।

उनले भने– ‘टेलिभिजनको महत्व अहिले पनि त्यत्ति नै छ, खालि स्क्रिनको साइज चेन्ज भएको हो । जति धेरै स्ट्रङ कन्टेन भयो, जति राम्रो कन्टेन भयो त्यति राम्रो हो । सूचनाले मनोरञ्जनसँगै जानकारी पनि दिनसक्ने र कतिपय अवस्थामा प्रमाणित जानकारी दिने गर्छ । टिभी भौतिक रुपमा नै स्क्रिनमा सबै कुरा देखाइदिने भएकाले सत्यताको नजिक पुग्ने माध्यम भयो । सिनेमालाई मान्छेको बैठक कोठासम्म ल्याउने काम टेलिभिजनले गरेको छ । अहिलेको अवस्थामा पनि टेलिभिजनको आफ्नै महत्व छ । अहिले यसमा प्रशारणको शैली फरक भएको छ, आम दर्शकमा पुग्ने माध्यम परिवर्तन भएको छ । हामी कहाँ मिडिया भाइब्रेन्सी छ । मिडिया खुला भएपछि प्रतिष्पर्धामा जाँदा त्यसको आधार, मूल्यांकन, क्षमताको आँकलन नै नगरी सबै दौडिएको जस्तो देखिन्छ । टेलिभिजन सञ्चालन हुनु पहिलाको जस्तो अब रहेन । एउटा कोठाबाट मात्रै पनि टेलिभिजन सञ्चालन हुनसक्छ । हाम्रोमा मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नभएको देखिन्छ । टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किनुपर्छ । हाम्रोमा एउटाले एउटा कन्टेन निकाल्यो भने त्यस्तै कन्टेनहरु कपि गरेर राख्ने प्रचलन छ । हाम्रोमा राम्रो न्युज च्यानल नै बन्न सकेका छैनन् ।

सबै पाटो हेरेर न्युजलाई सेलेबल बनाउनुपर्छ । समाचारको गुणस्तर उच्च राख्नुपर्छ । विश्वमा यति धेरै सामग्रीहरु उत्पादन भइरहेका छन्, तिनको बजारीकरणका लागि विज्ञापन एउटा ठूलो आधार हो । हाम्रोमा विज्ञापनको अभाव हुनुपर्ने अवस्था देखिँदैन । हुन दिएको देखिन्छ । नेपालको टेलिभिजनलाई टेलिभिजन उद्योग मान्ने हो भने त्यो उद्योगप्रतिको इमान्दारिता कति छ हेर्नुपर्छ । हाम्रोमा राष्ट्रिय परिचय बोकेको टेलिभिजन कार्यक्रम नै देखिँदैन । राष्ट्रियतालाई राजनीतिक रुपमा मात्रै बुझ्ने गरेको देखिन्छ ।’

विश्व टेलिभिजन दिवसका अवसरमा वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. कुन्दन अर्यालले कमजोर लगानीमा योजना बिना टेलिभिजन स्थापना हुँदा टेलिभिजनको अवस्था निराशाजनक रहेको बताए ।

उनले सरकारले टेलिभिजन खोल्न आवश्यक वार्षिक कार्ययोजना र कार्यक्रमको ढाँचाको विषयका गाइड लाइन बनाउन नसक्दा टेलिभिजनमा समस्या आएको दाबी गरे ।

उनले सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाउँदा सबै भन्दा सस्तामा उत्पादन (प्रोडक्सन) भएका मनोरञ्जनका सामग्रिमा टेलिभिजनहरु केन्द्रित भएको बताए । उनले कन्टेन्टलाई गम्भिरतापूर्वक हेरेर बनाउने भन्दा पनि हलुका र सस्ता कन्टेन्टहरु बजाउने काम मात्रै गरेको उल्लेख गरे ।

सहप्राध्यापक अर्यालले सरकारले टेलिभिजनहरुले कस्तो कन्टेन्ट बनाउन भन्ने गाइडलाइन बनाउन आवश्यक रहेको बताए । उनले सरकारले अहिलेसम्म प्राइभेट र सरकारी टेलिभिजनले बनाउने कन्टेन्का लागि स्पष्ट गाइडलाइन नहुँदा नेपाल टेलिभिजन नै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गरे ।

सहप्राध्यापक अर्यालले गणतान्त्रिक मुलुकमा सरकारले टेलिभिजन चलाएर बस्न नपर्ने बताए । उनले नेपाल टेलिभिजनलाई सरकारको ठाडो नियन्त्रणमा राख्न नहुने भन्दै संसदप्रति उत्तरदायी बनाउन पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

उनले वर्तमान सरकारले नेपाल टेलिभिजनलाई पब्लिक सर्भिस बोर्डकास्टिङ बनाउने भन्दा पनि रेडियो र टेलिभिजन मर्ज गर्ने कुरा गर्नु गलत भएको बताए । उनले सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने यता प्राइभेट क्षेत्रलाई पनि चलाउन दिँदा दुई बीचमा भुमिकामा फरक बनाउने कुरामा सरकार चुकेको बताए ।

उनले निजी टेलिभिजनहरुलाई कसरी अगाडि लैजाने ? भन्ने राज्यको स्पष्ट सोच नभएको बताए ।

उनले भने– ‘सरकारले कुनै योजना बिना टेलिभिजन अगाडि बढाएपछि सबै भन्दा सस्तो प्रोडक्सनमा मनोरञ्जन हुन्छ । टेलिभिजनहरुले गित संगित र हल्लाका कन्टेनहरु बजाउने काम मात्रै भएका छन् । टेलिभिजनहरुले कन्टेनलाई गम्भिरतापूर्वक हेरेर बनाउने काम भएको छैन । सरकारले कन्टेन बनाउनको लागि गाइडलाइन बनाउनुपर्ने थियो । सटेन खालका टेलिभिजनहरुलाई यति उत्पादन गर्नैपर्छ भन्नुपर्ने थियो । केही न केही गाइड लाइन हुनुपर्ने थियो । तर अहिलेसम्म छैन । अहिले नेपाल टेलिभिजन नै अफ्ठ्यारो स्थितिमा छ । सरकारको ठाडो नियन्त्रणमा टेलिभिजन चलाउने प्राइभेट क्षेत्रलाई पनि टेलिभिजन चलाउने दिने तर दुईबीचको अन्तर वा भुमिकामा फरक हुनुपर्छ । नेपाल टेलिभिजनलाई सरकारको ठाडो निर्देशनमा नराखौं संसद प्रति उत्तरदायी बनाउ,पब्लिक सर्भिस बोर्ड कास्टिङ बीबीसी र एनएचकेले गरेको जस्तो गरौं भनेर बनाएको योजना कहाँ पुगिसक्यो । यतिका वर्षसम्म हरायो, हुँदा हुँदा अहिलेको सरकारले बुझेको के रहेछ भन्दा रेडियो र टेलिभिजनलाई मर्ज गर्ने भनेको छ । गणतान्त्रिक व्यवस्थामा राज्यले टेलिभिजन चलाएर बस्नुपर्दैन ।’

उनले वि.स.२०४६ सालपछि नेपाली मिडियामा ठूलो लगानी आउँदा मिडियाहरु संस्थागत स्वरुपमा लिए भनिए पनि अहिले त्यही संस्थागत स्वरुपमा मिडियाहरुमा श्रमजीविका समस्या बाहिर आउँदा मिडिया क्षेत्रमा अझै निराशा देखिएको बताए ।

उनले मिडिया उद्यमीहरुले सामाजिक उत्तरदायित्व पनि सोच्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =