२० वर्षपछि विश्वकपको फाइनलमा भिड्दै भारत र अस्ट्रेलिया

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाका भिड्ने भएका छन् । यी दुई देशबीच आइतबार (१९ नोभेम्बर) अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि भिडन्त हुने भएको हो ।
क्रिकेट विश्वकपको फाइनल २० वर्षपछि भारत र अस्ट्रेलियाबीच खेल हुन लागेको छ । पछिल्लो पटक सन् २००३ को विश्वकपमा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको भारतसँग सो हारको बदला लिने अवसर जुरेको छ ।
भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको छ । सन् १९८३ मा कपिल देवको कप्तानीमा वेस्ट इन्डिजलाई हराएर पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि सन् २००३ मा दोस्रो पटक फाइनलमा पुगेको भारत अस्ट्रेलियासँग हार बेहोरेको थियो । त्यसपछि आठ वर्षपछि सन् २०११ मा भारत फाइनलमा पुग्दा श्रीलंकालाई हराएर दोस्रो पटक उपाधि जितेको थियो ।
मुम्बईको वानखेडे स्टेडियममा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । भारत १२ वर्षपछि क्रिकेट विश्वकपको फाइनलमा पुगेको हो । पछिल्लो पटक सन् २०११ मा महेन्द्र सिंह धोनीको कप्तानीमा भारत च्याम्पियन बनेको थियो । यस्तै बिहीबार (१६ नोभेम्बर) कोलकाताको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गरेर फाइनलमा पुगेको हो ।
२००३ र २०२३ विश्वकपका संयोग
सन् २००३ को विश्वकपमा अस्ट्रेलियाली टोली च्याम्पियन बन्दा सबै ११ खेल जितेको थियो । फाइनलमा भारतलाई हराउनुअघि अस्ट्रेलियाले समूह चरणमा पनि भारतलाई हराएको थियो । त्यसपछि भारतीय टोलीले कुल आठ खेल जितेको थियो ।
अब २०२३ को विश्वकपको कुरा गर्ने हो भने भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा पुगेको छ र उसको नजर अब ११औँ जित हासिल गर्दै उपाधि जित्नेमा छ । भारतले समूह चरणमा अस्ट्रेलियालाई हराएको थियो र अब फाइनलमा पनि पराजित गर्ने अवसर छ । अस्ट्रेलियाको टोली यस प्रतियोगितामा कुल आठ खेल जितेर फाइनलमा पुगेको छ।








